राष्ट्रपतिद्वारा शीतल निवासमा घटस्थापना
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको पहिलो दिन नेपाली जनताको समृद्धिको सङ्कल्प सहित शीतल निवासमा घटस्थापना गर्नुभयो ।
राष्ट्रकल्याण र सम्पूर्ण नेपाली जनताको उन्नति र सुखी जीवनका लागि पूजासहित जमरा राखिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
आज बिहान ९ बजेर ४१ को शुभ साइतमा नवदुर्गाको प्रतीकका रुपमा कलश स्थापना गरी दियो र गणेशका पूजा गरेर राष्ट्रपति भण्डारीले जौ छरेकी जानकारी उहाँका सञ्चारविज्ञ माधव शर्माले जानकारी दिए ।
आज छरिएको जमरा विजयादशीका दिन देवी विसर्जन गरेपछि दुर्गा भवानीको प्रसादका रुपमा मान्यजनको हातबाट ग्रहण गरिने परम्परा रहिआएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले घटस्थापनाको साइत बिहान ९ बजेर ४१ मिनेटमा जुराएको थियो ।
प्रत्येक दिन बिहान दुर्गा सप्तशती चण्डी, देवीभागवत्लगायत देवी स्तोत्र पाठ गरी दुर्गा भवानीको प्रतीकका रुपमा घडा थापिएको स्थलमा विजयादशमी सम्म बिहान–बेलुका पूजा एवम् आरती गरिन्छ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरेपछि विधिवत् रुपमा नेपालीको महान् चाड दशैँ शुरु हुन्छ । घटस्थापनाका अवसरमा आज घर–घरमा जौ अथवा आफ्नो कुल परम्पराअनुसार गहुँ, मकैलगायत विभिन्न बीज छरेर जमरा राखिन्छ ।
यसैगरी विभिन्न शक्तिपीठमा पनि घटस्थापनासहित जमरा राखियो । दुर्गा पक्ष शुरु भएपछि उपत्यकालगायत देशभरका शक्तिपीठमा दर्शन गर्न भक्तजनको भीड लागेको छ । वर्षमा पर्ने चारवटा नवरात्रमध्ये शारदीय नवरात्रलाई नेपालमा महान् पर्वका रुपमा मनाउने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्