पुनर्कर्जाको व्यवस्थापनका लागि अर्थ मन्त्रालयमा छलफल

काठमाडौं, साउन २३ । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकबाट सञ्चालनमा आउने पुनर्कर्जा कोषको व्यवस्थापन र सञ्चालनबारे छलफल गरेको छ ।

मन्त्रालयमा भएको छलफलमा पुनर्कर्जाको व्यवस्थापन लगायत लघु बीमा तथा कोरोना रोगको बीमा सम्बन्धी विषय छलफल भएको हो । मन्त्रालयमा बसेको उच्चस्तरिय वित्तीय क्षेत्र समन्वय समितिको बैठकले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट बक्तव्य र मौद्रिक नीतिमा उल्लेखित व्यवस्था कार्यान्वयनका विषयमा छलफल गरेको छ ।

अर्थमन्त्री डा। युवराज खतिवडाको अध्यक्षतामा भएको सो छलफलमा सरकारी ऋणपत्रको अभौतिकिकरण एवं दोस्रो बजार कारोवार तथा नेपाल धितोपत्र बोर्ड, सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, नेपाल स्टक एक्स्चेञ्ज र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको पुनःसंंरचना, र हेजिङ सम्बन्धी नियमावली संशोधन लगायतका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, घरेलु साना तथा मझौला उद्यम एवं कोरोना प्रभावित पर्यटन व्यवसायमा श्रमिक–कर्मचारीको पारिश्रमिक भुक्तानी र व्यवसाय सञ्चालनका लागि खडा गरिने कोषका सम्बन्धनमा विशेष छलफल भएको छ । त्यस्तै, नेशनल पेमेन्ट गेटवेको सञ्चालन पनि यथाशिघ्र गर्ने विषयमा छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्