‘नारायणकाजीमाथि खन्‍निए प्रधानमन्त्रीका सल्लाहकार, भने -प्रवक्ता पदको लाज त जोगाउनुस्’

काठमाडौं, साउन २३ । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहका विष्णु रिमालले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठलाई प्रवक्ता पदको लाज जोगाउन आग्रह गरेका छन् ।रिमालले शुक्रबार ट्विटरमार्फत प्रवक्ता श्रेष्ठलाई पार्टी विरोधी गतिविधि गरेको आरोप लगाउँदै प्रवक्ता पदको लाज जोगाउन आग्रह गरेका हुन् ।

बुधबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल र प्रवक्ता नारायाणकाजी श्रेष्ठले गोप्य पत्रकार भेला बोलाएपछि गुटको प्रश्रय गर्न थालेको आरोप लाग्दै आएको छ भने पार्टीको आन्तरिक द्वन्द्व गहिरिँदै गएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायाणकाजी श्रेष्ठको भूमिकामाथि प्रश्न गरेका छन्। सामाजिक सञ्जाल ट्वीटरमा रिमालले प्रवक्ता श्रेष्ठको भूमिका अत्ति भएको इंगित गर्दै पदको लाज जोगाउनसमेत भनेका छन्।

रिमालले ट्वीटरमा लेखेका छन्, इनफ इज इनफ नारायणकाजी श्रेष्ठजी! कम से कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस्। ‘विधि र पद्दति’को नक्कली गीत गाउँदै नेताहरूलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस्! पार्टी एकताविरूद्धका कुनैपनि गतिबिधि कतैबाट पनि नहोस्१ मुलुक संवेदनशील मोडमा छ महसूस होस्!!

प्रधानमन्त्री केपी ओलीको कायैशैली र व्यक्तिगत प्रवृत्तिका विरुद्ध अहिले नेकपाभित्र अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठले आवाज उठाइरहेका छन्। १० असारदेखि जारी स्थायी समिति बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीको राजीनामाको विषयले प्रवेश पाएपछि विवाद उत्कर्षमा छ।

पार्टी महाधिवेशनमा गएर अध्यक्ष ओलीले सम्मानजनक नेतृत्व हस्तान्तरण गर्ने या महाधिवेशनपूर्व नै ओलीको विकल्प खोजेर जाने भन्नेमै नेकपा शीर्ष नेताबीच विवाद छ। पार्टीको आन्तरिक संघर्ष चर्किँदै गएपछि पटकपटक स्थायी समिति स्थगित हुँदै आएको छ।

यसबीचमा शीर्ष तहमा पटकपटक वार्ता र छलफल भए पनि अहिलेसम्म विवाद समाधान उपाय निस्किन सकेको छैन। त्यसैगरी दोस्रो पुस्तका नेताहरु र युवा नेताहरु पनि पार्टी विवाद मिलाउन क्रियाशिल देखिएका छन् तर सहमति बन्‍न सकेको छैन।

नेकपा फुटको डिलैमा पुगेको छ। दुई अध्यक्षबीचको संवाद अहिले ठप्प भएको छ। प्रधानमन्त्री ओली पक्षधर र प्रचण्ड–नेपाल पक्षका नेताहरु अहिले पानी बाराबारको अबस्थामा पुगेका छन्। केही दिन अघि मात्रै प्रचण्ड नेपाल पक्षले केही पत्रकारलाई बोलाएर प्रधानमन्त्री ओलीले आफूहरुलाई पन्छाउन खोजेको गुनासो गरेका थिए।

प्रतिक्रिया दिनुहोस्