नारायणी नदी कटान र बगानका क्षेत्रमा २४ अर्बको परियोजना

काठमाडौं , साउन २० । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले नारायणी नदीको कटान र बगान रोक्न संघ सरकारले २४ अर्बको मेगा प्रोजेक्ट सुरु गर्न लागेको बताएका छन् ।

यस वर्षको बाढीले गैँडाकोटदेखि त्रिवेणीसम्मको क्षेत्रमा कटान तीव्र बनाएपछि र खेतीयोग्य जमिन बगरमा बदलेपछि केही दिनअघि अवलोकनका लागि पुगेका मुख्यमन्त्री गुरूङले ठूलो आकारको परियोजनामार्फत नदी नियन्त्रण गरिने बताएका हुन् ।

“नारायणी नदीले वर्षेनी कटान तीव्र पारेपछि मध्यविन्दु र कावासोती नगरपालिका क्षेत्र लगायतका ठाउँमा तटबन्द, गर्न, डुबान रोक्न २४ अर्बको मेगा प्रोजेक्ट प्रस्ताव गरेको छ । विस्तृत परियोजना पनि प्रस्ताव गरेको छ,” गुरूङले बाह्रखरीसँग भने, “तत्काल नदी नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तहले पनि बजेट विनियोजन गरेको छ ।”

मध्यविन्दु नगरपालिकाको २ र ३ नम्बर वडा कावासोती १७ नम्बर वडाको विभिन्न भूभागमा हुने डुबान रोक्न संघले ३० लाख, प्रदेश सरकारले २० लाख र मध्यविन्दु नगरपालिकाले १५ लाख विनियोजन गरेका छन् । तर, यतिले मात्र नदी नियन्त्रण नहुने, नदीलाई साविककै धारमा फर्काउन नसकिने उनको भनाइ थियो ।

“यस वर्षको नीति, कार्यक्रमदेखि ठुल्ठूला नदी नियन्त्रणका कार्यक्रम, परियोजना संघ सरकारको मातहत राखिएको छ । अन्तरजिल्ला तटबन्धको कार्यक्रम पनि संघ मातहतै छ । यो क्षेत्रको दीर्घकालीन समस्या समाधानका लागि प्रदेश सरकारको समन्वयमा त्यो कार्यक्रम लागु गर्न खोजिएको हो,” गुरूङले भने ।

उनका अनुसार रतनपुर क्षेत्रको करिब एक दर्जन गाउँ डुवानको उच्च जोखिममा छन् । कैयौं हेक्टर जमिन बगरमा परिणत भएको छ । तटबन्धका लागि भनेर निर्माण गरिएका जाली बगाउँदा नदीले धार नै परिवर्तन गरेको छ ।

“नारायणी नदीको नियन्त्रण दुई(चार करोडले मात्र सम्भव छैन, त्यसैले गैंडाकोटदेखि त्रिवेणीसम्म ८२ किलोमिटर तटीय क्षेत्रमा नै दीर्घकालीन समाधानका लागि मेगा प्रोजेक्ट सुरु हुन्छ । नदीको धारलाई साविककै स्थानमा फर्काइन्छ,” गुरूङले भने ।

संघ, प्रदेश र स्थानीय तहले छुट्टयाएको रकमबाट अल्पकालीन रोकथामका लागि बोल्डरहरू ९तटीय क्षेत्रमा ढुङ्गाको रास थुपारेर, बाढी पस्न नदिने० राख्ने काम भइरहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्