महासंघको कार्यसमिति बैठक बोलाइयो, साधारणसभाको मोडालिटीबारे छलफल गरिने

काठमाडौं , साउन १५ । नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमितिको बैठक बोलाइएको छ । गत साता बढेको महासंघको पदाधिकारी बैठकले साधारणसभा सार्ने निर्णय अनुमोदन गर्न र साधारणसभाबारे थप छलफल गर्न बैठक बोलाइएको हो ।

महासंघ अध्यक्ष भवानी राणाले असार २१ गतेका लागि बैठक बोलाइएको बताइन् । पदाधिकारी बैठकको निर्णय अनुमोदन गर्न र साधारणसभाको मोडालिटीबारे छलफल गर्न बैठक डाकिएको उनले बताइन् । “असार २१ गते बस्ने बैठकले पदाधिकारीको निर्णय अनुमोदन गर्ने र साधारणसभाको मोडालिटीबारे निष्कर्ष निकाल्ने प्रयास गर्नेछ”, उनले भनिन् ।

महासंघको आगामी साउन २६ र २७ गतेका लागि तय भएको ५४औं वार्षिक साधारणसभा पदाधिकारी बैठकले सरकारले सभा, सम्मेलन गर्न दिने निर्णय गरेको १५ दिनभित्र गर्ने गरी सारेको थियो । तर, यो निर्णय सर्वसम्मत रुपमा हुन सकेको थिएन् ।

महासंघका उपाध्यक्ष चन्द्र ढकालले सोही बेलामा निर्णयमा नोट अफ डिसेन्ट लेखेका थिए । लगत्तै उनको टिमले साधारणसभाको मिति सार्ने नसार्ने विषयमा कार्यसमितिको बैठकले मात्रै निर्णय गर्न सक्ने भन्दै निर्णयमा असहमती जनाएको थियो ।

त्यसपछि केही पदाधिकारीसहित एक चौथाई कार्यसमिति सदस्यले कार्यसमितिको बैठक माग गर्दै महासंघ सचिवालयमा निवदेन दर्ता समेत गराएका थिए ।

कोभिड १९ का कारण गत चैत्रमा हुनुपर्ने महासंघको साधारणसभा पटक पटक सर्दै आएको छ । यस पटकको साधारणसभा चुनावी सभा समेत भएकाले उपाध्यक्षद्धय चन्द्र ढकाल र किशोर प्रधानले प्यानलसहित उमेद्वारी घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्