नेकपामा विवाद नयाँ मोडमा, विवाद मिलाउन बामदेवले अघि सारे ६ बुँदे प्रस्ताव
काठमाडौं, साउन १३ । पार्टीभित्रको विवाद थप उत्कर्षमा पुगेपछि विवाद समाधान गर्न उपाध्यक्ष बामदेव गौतमले नयाँ प्रस्ताव अघि सारेका छन् ।पार्टीको बिग्रहलाई रोक्न भन्दै उपाध्यक्ष गौतमले ६ बुँदे प्रस्ताव अघि सारेका हुन् ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड समक्ष उपाध्यक्ष गौतमले राखेको प्रस्तावमा ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने प्रस्ताव गरेका छन् ।
यस्तै प्रचण्ड एकता महाधिवेशनसम्म पूर्ण कार्यकारी अधिकारसहितको अध्यक्षको जिम्मेवारीमा रहने, पार्टीको एकता महाधिवेशन सहमतिको आधारमा गर्ने, प्रधानमन्त्रीको दैनन्दिनका कामहरुमा हस्तक्षेप नगर्ने गौतमको प्रस्ताव छ । तर, सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका विषयहरुमा निर्णय गर्नुपूर्व पार्टीको सचिवालयसँग परामर्श गर्नुपर्ने समेत उल्लेख छ ।
यसैगरी पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शको आधारमा मन्त्रिपरिषद् पुनर्गठन तथा राजनीतिक तथा संवैधानिक नियुक्ति गर्नुका साथै संसदमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपूर्व सचिवालयमा परामर्श लिने पनि गौतमको प्रस्ताव छ ।यसबाहेक पार्टी बैठकहरु पार्टी कार्यालयमा मात्रै गर्ने पनि उनको प्रस्ताव छ ।
यता सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्रको आन्तरिक विवाद सतहमा आएको छ ।
आजका लागि बोलाइएको स्थायी कमिटी बैठक प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले एकतर्फी रुपमा स्थगित गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बैठक राख्न बालुवाटर जाँदै गरेको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए ।सापकोटाका अनुसार अहिले प्रचण्ड बालुवाटर जाँदैछन् । प्रचण्डले जसरी पनि बैठक राख्ने तयारी गरेका छन् ।
यसअघिका बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ९प्रचण्ड०बीच सहमतिका आधारमा स्थगित भए पनि आजको बैठक भने ओलीले एकल रूपमा स्थगित गरेपछि प्रचण्डले बैठक राख्ने तयारी गरेका हुन् ।
यता प्रधानमन्त्रीको सचिवालयले भने बैठकअघि छलफलका लागि प्रचण्डलाई बोलाइए पनि प्रचण्ड बालुवाटार नपुगेपछि बैठक स्थगित गरिएको जनाएको छ । यसैबीच स्थायी कमिटी बैठक फेरि बस्ने सूचना आएको स्थायी कमिटी सदस्य पम्फा भुसालले बताइन । उनका अनुसार स्थगित भनेर सूचना दिइएको भएपनि बैठक सञ्चालन गर्ने खबर फेरि पठाइएपछि नेताहरू बालुवाटार पुग्न थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्