१० अंकले बढ्यो सेयरबजार , १ अर्ब ३२ करोडको सेयर कारोबारमा

काठमाडौं, साउन ८ । साताको अन्तिम कारोबार दिन सेयरबजार हरियो भएको छ। आज नेप्से परिसूचक १०।१३ अंकले र सेन्सिटिभ सूचक शून्य दशमलव ७४ अंकले बढेको हो।

बिहीबार १ अर्ब ३२ करोड ७१ लाखको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। नेप्सेका अनुसार १ सय ८७ कम्पनीको कारोबार भएकामा ३३ लाख ९२ हजार कित्ता सेयर बिक्री भएका छन्।

आज २८ हजार ६ सय ४९ पटक खरिदबिक्री भएका थिए। कुल १२ समूहको कारोबार भए पनि १० वटाको कारोबार सूचक हरियो हुँदा म्युचुअल फन्ड र विकास बैंकको सूचक रातो भएको छ।

आज दुईवटा कम्पनीको १० प्रतिशतले र तीनवटाको ९ प्रतिशतले सेयर मूल्य बढेको छ। त्यस्तै सेयर मूल्य घट्ने कम्पनीहरुमा भने अधिकतम ५।३६ प्रतिशतसम्मले घटेको छ। आज तारागाउँ रिजेन्सी होटलको सेयर २१ रुपैयाँ प्रतिकित्ताले र मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको प्रतिकित्ता ६२ रुपैयाँले सेयर मूल्य बढेको छ।

कारोबारमा भने आज पुनर्बीमा कम्पनीको ११ करोड ३२ लाखको, नेपाल लाइफको १० करोड २९ लाखको सेयर कारोबार भएको छ। यो नै आजको अधिकतम कारोबार हो।

प्रतिक्रिया दिनुहोस्