बिमा कम्पनीहरुको आम्दानी बढ्यो , कति प्रतिशतले भयो वृद्धि ?
काठमाडौं, साउन ८ । बिमा कम्पनीहरुको आम्दानी भने बढेको छ।कोरोनाको महामारीले अन्य क्षेत्रमा नकारात्मक प्रभाव परेपनि बिमा कम्पनीहरुको आम्दानी भने बढेको हो । जीवनबिमा कम्पनीहरुले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा पहिलो बिमा शुल्क आर्जन १९.१८ प्रतिशतले बढाएका छन्।
जीवनबिमा कम्पनीहरुले असार मसान्तसम्ममा ९४ अर्ब ३९ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेका हुन्। गत वर्षको यही अवधिमा कम्पनीहरुले ७९ अर्ब १९ करोड रुपैयाँ आर्जन गरेका थिए। यस अवधिमा कम्पनीहरुले ७९ लाख ५७ हजार वटा पोलिसी जारी गरेका छन्।
सबैभन्दा धेरै नेपाल लाइफले मात्रै २८ अर्ब ३९ करोड रुपैयाँ प्रथम बिमा शुल्क आर्जन गरेको छ। नेपाल लाइफको मात्रै ३०.१८ प्रतिशत हिस्सा रहेको छ। कम्पनीले १३ लाख ७ हजार ६१६ वटा पोलिसी बिक्री गरेको छ।
दोस्रो नम्बरमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसनले १५ अर्ब ३१ करोड रुपैयाँ बिमा शुल्क आर्जन गर्न सफल भएको छ। कम्पनीले ७ लाख ६५ हजार वटा पोलिसी बिक्री गर्न सकेको छ।
सबैभन्दा भन्दा कम बिमा शुल्क आर्जन गर्नेमा सानिमा जनरल इन्स्योरेन्स रहेको छ। कम्पनीले ८२ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको हो। बिमा शुल्क आर्जन बिमा कम्पनीको विशुद्ध व्यावसायिक आर्जन हो।
पछिल्लो समय लाइसेन्स पाएका १० बिमा कम्पनीमध्ये युनियन लाइफ बिमा शुल्क आर्जनका हिसाबले ५ औ स्थानमा छ। कम्पनीले ४ अर्ब ८० करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ। त्यस्तै युनियनले तीन लाख ६० हजार वटा जीवनबिमा पोलिसी बिक्री गरेको छ।















प्रतिक्रिया दिनुहोस्