प्रधानमन्त्री ओली भन्छन् -पुष्पलालको चाहाना धेरै हदसम्म पूरा गरेका छौँ

काठमाडौं , साउन ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको कम्युनिस्ट पार्टी एकताको चाहाना धेरै हदसम्म पूरा भएको बताएका छन् ।

‘पुष्पलालको जुन सांगठनिक राजनीतिक चाहना थियो, त्यो आज हामीले धेरैहदसम्म पूरा गरेका छौं’, पुष्पलालको ४२ औं स्मृति दिवसका अवसरमा मंगलबार एक विज्ञप्ति जारी गर्दै नेकपाका अध्यक्ष समेत रहेका ओलीले पुष्पलालकै अगुवाईमा कम्युनिस्ट आन्दोलनको संस्थागत थालनी, समाजको तात्कालीन अवस्थाको गहिरो विश्लेषण, नेपाली समाज र राजनीतिलाई मार्गदर्शन गर्ने विचार, दर्शन र संगठनको स्थापना भएको स्मरण गरेका छन् ।

विचारका हिसावले नेपाल कुन अवस्थामा छ, नेपालमा गर्नु पर्ने के हो र कसरी अगाडि बढ्ने भन्ने व्यवस्थित वैचारिक मार्गदर्शन अघि सार्दै पुष्पलालले सामन्तवादको अन्त्य र गणतन्त्रको स्थापनालाई राजनीतिक उद्धेश्य बनाएका थिए । साथै उनले पार्टीलाई सामाजिक न्याय, समानता र देशभक्तिपूर्ण आन्दोलनको पर्यायका रुपमा अघि बढाएका थिए ।

‘पुष्पलालले विचार, दर्शन र सामाजिक मूल्य मान्यताको तहबाट एउटा नयाँ वास्तविक सम्पूर्ण रुपमा क्रान्तिकारी, परिवर्तनकारी, वैज्ञानिक विचार प्रारम्भ गर्नु भयो । यो नेपाली राजनीतिमा पुष्पलालको पहिलो योगदान हो । उहाँले विचारलाई विचारको रुपमा मात्रै होइन, व्यवहारमा प्रयोग गर्न संगठन चाहिन्छ भनेर संगठन निर्माण गर्नुभयो ।

बाम–लोकतान्त्रिक आन्दोलन र रुपान्तरणका व्यवस्थित विचारमा पुष्पलालसँग समकालीन नेताहरुमध्ये अरु कसैको तुलना हुन सक्दैन, चाहे ती जुनसुकै राजनीतिक धारका होउन् । यो नेपालको बाम लोकतान्त्रिक आन्दोलनमा पुष्पलालको श्रेष्ठ पक्ष हो’, ओलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘हामीले पुष्पलालको सपना साकार पार्ने बाटोमा महत्वपूर्ण काम गरेका छौँ । विभाजित कम्युनिस्ट आन्दोलन एकतावद्ध, राष्ट्रब्यापी र मजबुत भएको छ । पार्टीले करिव दुईतिहाई बहुमतका साथ प्रमुख स्थान हाँसिल गरेको छ । पुष्पलालको जुन सांगठनिक राजनीतिक चाहना थियो, त्यो आज हामीले धेरैहदसम्म पूरा गरेका छौं’, ओलीले भनेका छन् ।

त्यस्तै उनले देशलाई समृद्ध बनाउने साधन पार्टी भएको भन्दै पार्टीलाई बलियो बनाउँदै देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन यतिबेला एकतावद्ध भएर अघि बढ्नु अपरिहार्य भएको बताएका छन् ।

‘त्यसैले हामीले समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा अगाडि सारेका छौं । हामी यसअघि गर्न नसकेका र नगरिएका तमाम कामहरु गर्दैछौं । पुष्पलालका नीतिहरु आजका सन्दर्भमा यिनै हुन् । पुँजी र प्रविधिलाई हाम्रा प्रयासहरुमा मिसाऔँ, उत्पादन वढाऔँ, निर्यात वढाऔँ, आयात घटाऔँ । यस बाटोबाट हामी समृद्धि हासिल गर्ने छौँ’, ओलीले कम्युनिस्ट पार्टीको सरकारले समानतालाई समृद्धिसँग जोडेर अघि बढिरहेको दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्