राष्ट्र बैंकले ल्यायो २६ अर्बको नयाँ नोट बजारमा

काठमाडौं, साउन ७ । नेपाल राष्ट्र बैंकले २६ अर्ब रुपैयाँ बराबरको एक हजार रुपैयाँको नयाँ नोट आज (बुधबार) देखि बजारमा पठाएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालका अनुसार नोटमा केही नयाँ विशेषता रहेका छन् ।

बजारमा पठाइएका नयाँ नोटमा सुरक्षा विशेषताहरु यथावत रहे पनि हात्तीको संख्या थपिएको छ । नयाँ नोटमा चितवनमा देवकलीबाट जन्मिएका जुम्ल्याहा हात्ती ‘राम लक्ष्मण’ को चित्र राखिएको छ ।

यसअघि एउटा मात्र हात्तीको चित्र अंकित भए पनि त्यो हात्री नेपालकै थियो वा अरु देशको भन्ने प्रष्ट थिएन । अब भने एक हजारको नोटको पृष्ठ भागमा आफ्नै देशका दुई जुम्ल्याहा राम–लक्ष्मणले छापिँदै मान्छेका खल्ती खल्तीमा बस्ने मौका पाएका हुन् ।

उक्त नोट तत्कालीन गभर्नर डा। चिरञ्जीवी नेपालकै पालामा छापिएको पनि राष्ट्र बैंकले जनाएको छ ।

नोटको अग्रभागमा नोटको नम्बर, सगरमाथाको चित्र र गभर्नरको दस्तखत रहेको छ । नेपाल राष्ट्र बैंकको अंग्रेजी संक्षिप्त रुप एनआरबीको केही अंश नोटको अग्रभागमा र उक्त एनआरबीको बाँकी अंश नोटको पृष्ठ भागमा एकै पटक प्रिन्ट गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्