बालुवाटारमा नेकपा सचिवालय बैठक जारी, ठोस सहमतिको प्रयास
काठमाडौ., साउन ३ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को केन्द्रीय सचिवालय बैठक शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
पार्टी एकतामा गम्भिर संकट देखिएपछि सचिवालयबाटै ठोस सहमति गर्ने उदेश्यसहित अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’को सहमतिमा बैठक बसेको हो ।
सचिवालय बैठकअघि दिउँसो १ बजेबाट ओली र प्रचण्डबीच बालुवाटारमै करिब दुई घण्टा छलफल भएको थियो । बिहीबार भएको छलफलमा ओली, प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच शुक्रवार स्थायी समिति बैठक नरोक्ने र भदौ पहिलो साता केन्द्रीय कमिटी बैठक बोलाउने समझदारी जुटेको थियो ।
तर, अहिले गहिरिएको अन्तरबिरोधको समाधानबिनै स्थायी समितिबाट केन्द्रीय कमिटी बैठक बोलाउनुको औचित्य नहुने भन्दै शुक्रबारको छलफलमा ओली–प्रचण्डबीच शनिबार सचिवालय बैठक बोलाएर सहमतिको ठोस प्रस्ताव पारित गर्ने समझदारी भएको थियो ।
गत १० असारबाट सुरु भएको स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा प्रमुख एजेण्डा बनेपछि १७ असारयता छैठौं पटकसम्म बैठक स्थगित गरेर शीर्ष तहमा छलफल हुँदै आए पनि सहमति जुटेको छैन । त्यसकै कोसिसका लागि अहिले सचिवालय बैठक जारी छ ।
प्रतिक्रिया दिनुहोस्