झन् पेचिलो बन्दै नेकपा विवाद, बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो ३ बजेलाई सारियो
काठमाडौं , साउन २ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को स्थायी समिति बैठक सरेको छ । बिहान ११ बजे बस्ने भनिएको बैठक ३ बजेसम्मका लागि स्थगित भएको हो ।
पहिलो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएपछि असार १८ गतेदेखि पटक पटक स्थगित हुँदै आएको बैठक आज ११ बजे बस्ने भनिएको थियो । अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल जारी रहेका कारण स्थायी समिति बैठक दिउँसो ३ बजेका लागि सारिएको हो ।
पटक–पटक गरेर दुई साता स्थगित भएको स्थायी कमिटी बैठक आज हुन लागेको हो । यसबीचमा भएका वार्ताहरूमा पनि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमतिमा पुग्न नसकेपछि आज हुने भनिएको स्थायी कमिटी बैठकमा पनि दुई खेमा ९ओली र प्रचण्ड–माधव० बीच विवाद झन् चर्किने सम्भावना बढेको छ ।
आजको बैठकमा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने प्रचण्ड–माधव नेपाल समूहको अडानको ओली पक्षले कडा प्रतिवाद गर्ने तयारी गरेको छ ।
प्रधानमन्त्री ओलीले भारतले आफूलाई हटाउन खोजेको अभिव्यक्ति दिएपछि पार्टीभित्र उनको राजीनामाको कुरा उठिरहेका छन् । स्थायी समितिका बहुमत सदस्यले राजीनामा माग्न थालेपछि प्रधानमन्त्रीले बैठक फेस गर्न सकिरहेका छैनन् ।
यसअघि पनि अध्यक्ष दाहाल र ओलीबीच छलफल हुँदै आएपनि पार्टीभित्रको विवाद अझै सुल्झिन सकेको छैन ।बिहीबार भएको वार्ता दाहाल र नेपालले प्रधानमन्त्री पदबाट राजीनामा गर्न दबाब दिएपछि ओलीले आफूले राजीनामा नदिने अडान राख्दै हटाउने नै हो भने विधिसम्मतरूपमा हटाउन चुनौती दिएका थिए ।















प्रतिक्रिया दिनुहोस्