रक्षामन्त्री पोखरेल र पुनसँग चिनियाँ राजदूत यान्छीको भेटवार्ता , यी विषयमा भयो कुराकानी
काठमाडौं, असार ३१ । चिनियाँ राजदूत होउ यान्छीले उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल उर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग भेट वार्ता गरेकी छन् ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा आन्तरिक विवादमा रुमलिँदा भेटघाटलाई तीव्रता दिएकी यान्छीले आज सिंहदरबार पुगेर दुई मन्त्रीलाई भेटेकी हुन् ।
चिनियाँ राजदूत यान्छी र ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनबीच सिंहदरवारस्थित उर्जामन्त्रालयमा भेटवार्ता भएको थियो । भेटमा पछिल्लो राजनीतिक अवस्था र आपसीहीतका विषयमा कुराकानी भएको थियो ।
मन्त्री पुनसंगको भेटमा राजदूत यान्छीले सिन्धुपाल्चोकमा निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत आयोजनामा भएको क्षतिबारे समेत छलफल गरेकी थिईन ।
मन्त्री पुनको सचिवालयले कोरोनाको संक्रमण, लकडाउन लगायतका कारण चीनमा रहेका प्राविधिक तथा कामदार नेपाल आउन नसकेको र त्यसले निर्माणाधीन परियोजनामा असर पारेको जानकारी उनले गराएको जनाएको छ ।
मन्त्री पुनले नेपाल र चीनबीचको सम्बन्ध सुदृढ गर्नुपर्नेमा भेटमा जोड दिनुका साथै नेपालको ऊर्जा, जलस्रोत तथा पर्यटनको क्षेत्रमा चिनियां लगानी बढाउने वातावरण बनाउन उनले राजदूत यान्छीसमक्ष आग्रह गरेका थिए ।
यसअघि चिनियाँ राजदूतले रक्षामन्त्री ईश्वर पोखरेलसंग समसामयीक विषय र दुई देशबीचको सम्बन्धबारे छलफल गरेकी थिईन । दुवै मन्त्रीसंगको भेटमा उनले नेकपाभित्रको जारी विवादको बारेमा चांसो राखेकी थिईन । मन्त्री पुन नेकपाका अध्यक्ष प्रचण्डसंग निकट छन् भने पोखरेल प्रधानमन्त्री केपी शर्मा ओली निकट नेता हुन् ।
चिनियाँ राजदूतले नेकपाभित्रको विवाद समाधानमा भुमिका खेलेको चर्चा भइरहेका बेला पुन मन्त्री पुन र पोखरेललाई भेट गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यसअघि चिनियां राजदूत यान्छीले प्रधानमन्त्री केपी ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालसँग भेटवार्ता गरिसकेकी छन् ।
प्रतिक्रिया दिनुहोस्