ओली र प्रचण्डबीच तीन घण्टा छलफल, सहमतिको टुंगो अझै लागेन
काठमाडौं , असार ३१ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार पनि छलफल भएको छ ।साउन २ गतेलाई निर्धारित स्थायी कमिटी बैठकअघि सहमति जुटाउने प्रयास स्वरुप उनीहरु छलफलमा जुटेका थिए ।
करिब ३ घण्टासम्म ओलीसँग छलफल गरेर अध्यक्ष प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन् । दुई अध्यक्षबीचको छलफलमा केही समय महासचिव बिष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए ।
अध्यक्षद्धयबीच छलफल सकारात्मक भए पनि कसरी सहमति गर्ने भन्ने टुंगो नलागेको बालुवाटार स्रोतले जनाएको छ ।दुई अध्यक्षबीच पुनः छलफल हुनेछ ।बहुमत सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि नेकपाको शक्ति संघर्ष उत्कर्षमा पुगेको छ।
यही विवादले पार्टी फुटको नजिक पुग्न लागेपछि अध्यक्ष दाहाल र माधवकुमार नेपाल समूहले लगातार बैठक स्थगित गरेर सहमतिको लागि भन्दै ओलीसँग संवाद गर्दै आएका छन् ।जारी छलफलमा ओलीले आफूले दुबै पद नछाड्ने अडान दोहोर्याएका छन् भने प्रचण्डले कम्तिमा एउटा पद छाडेर सहमतिमा आउन आग्रह गर्दै आएका छन् ।
तर, ओलीले दुवै पद नछाड्ने तर २०७६ मंसिर ४ को सहमतिअनुसार अघि बढ्न सकिने जवाफ दिदै आएको बताइन्छ । मंसिर ४ को सहमतिमा ओलीले पाँच वर्ष सरकार चलाउने र प्रचण्डले कार्यकारी हैसियतमा पार्टी चलाउने उल्लेख छ ।
मंसिर ४ को यो सहमति ओलीकै कारण कार्यान्वयन नभएको भन्दै प्रचण्डले २०७५ जेठ २ को सहमतिअनुसार अघि बढ्नुपर्ने अडान लिएका छन् ।
त्यसमा पनि सहमति नभए असन्तुष्ट पक्षलाई पनि मिलाउने गरी नयाँ लिखित सहमति गर्नुपर्ने माग प्रचण्डले राखेको बुझिएको छ । तर, त्यसमा पनि ओली सहमत हुन सकेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्