दश हजार रिक्सा चालक सङ्‍कटमा, चलाउन खोजे पनि छैनन् यात्रु

 

काठमाडौं, असार २८ । कैलालीका रिक्सा चालक व्यवसाय नचलेपछि सङ्‍कटमा परेका छन् । तीन महिनासम्म रिक्सा चलाउन नपाएका रिक्सा व्यवसायी रिक्सा चले पनि यात्रु नपाएपछि चिन्तामा परेका हुन् ।

सिद्धि विनायक यातायात प्रालि टीकापुरका महासचिव रामशरण रेग्मीका अनुसार कैलालीमा करिब १० हजार रिक्सा छन् । रिक्सा व्यवसाय नचलेपछि १० हजार नागरिकको रोजीरोटी सङ्‍कटमा परेको रेग्मी बताउँछन् । “तीन महिना पूर्ण रूपमा रिक्सा बजारमा आउन सकेनन्, आजभोलि चलाउन खोजेका छन् तर यात्रु छैनन् । रिक्सा चालकको पेसा सङ्‍कटमा परेको छ,” उनले भने ।

कोरोना भाइरस सङ्क्रमणले मुलुकै अस्तव्यस्त भएको छ । सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनले सबैभन्दा बढी असर सामाजिक र आर्थिक क्षेत्रमा परेको छ । कैलालीको जानकी गाउँपालिका ६ का मङ्‍गल चौधरीले गएको माघमा इलेक्ट्रोनिक रिक्सा किने । माघ १० गते ६ लाख २२ हजार रुपैयाँ ऋण गरेर रिक्सा किनेका मङ्‍गलले दुई महिना मात्र राम्रोसँग रिक्सा चलाए । दुई महिनापछि चैत ११ गते देशमा लकडाउन भयो । “असारदेखि लकडाउन केही खुकुलो भएपछि रिक्सा बजारमा ल्याउन थालेँ,” उनले भने, “ऋणमा रिक्सा किनेँ तर चलाउनै पाइनँ । बैंकले ब्याज र किस्ता तिर्न ताकेता गरेको छ । मलाई त रिक्सा किनेर तनाव भयो, अब ऋण कसरी तिर्नु रु”

जानकीकै रवीन्द्र नेपालीलाई पनि रिक्सामा यात्रु नपाउँदा समस्या भएको छ । उनलाई पनि ऋण कसरी तिर्ने, परिवार कसरी पाल्ने भन्‍ने चिन्ता बढेको छ । “तीन महिनापछि रिक्सा चलाउँदा पनि यात्रु पाइन्‍न, हिजो त दिनभरि यात्रु कुरेँ, एकजना पनि पाइनँ,” रवीन्द्रले भने, “घर पनि कसरी चलाउने रु यही पेसाबाट परिवार पालेको थिएँ, अब त भोकमरी होला जस्तो छ ।”

रिक्सा चालक राजकुमार चौधरीले पनि दुई वर्षअघि ऋण गरेर रिक्सा किने । उनले दुई वर्ष राम्रो कमाइ गरे । रिक्सा किन्दाको ऋण दुई वर्षमै चुक्ता गरे । तर कोरोना भाइरस सङ्क्रमण फैलिएपछि रोकथामका लागि भएको लकडाउनको असरले दैनिकी चल्न मुस्किल भएको छ । “दैनिक दुई हजारदेखि चार हजार रुपैयाँसम्म कमाइ हुन्थ्यो, अब नियमित बचत गर्छु र घर चलाउँछु भन्‍ने सोचेको थिएँ,” राजकुमार भन्छन्, “तीन महिनामा घर खर्चमा ५० हजार रुपैयाँ ऋण लागिसकेको छ, न त रिक्सा चल्छ, जीवन तनावमय भएको छ ।”

रिक्सा चालक इन्द्र विक पनि यात्रु नपाएर दिक्क छन् । उनले पनि ऋणमा किनेको रिक्सा राम्रो नचलेपछि रिक्साचालक पेसाबाट विस्थापित हुने अवस्था आउने चिन्ता बढेको बताए । रिक्सा चालकलाई कोरोनाको डरले निर्वाध रिक्सा चलाउन पनि कठिन भएको छ । रिक्सा चालक गुजारा गर्नै गाह्रो भएको गुनासो गर्न थालेका छन् ।

रिक्सा चालक जनक परियारले यही पेसाबाट परिवार पालेकालाई जीवन निर्वाह गर्न कठिन भएको बताए । “सुरुमा त कोरोना सङ्क्रमण होला भन्‍ने डर थियो, अब त भोकै मरिन्छ भनी डर हराएको छ,” जनकले भन्छन्, “यात्रु कुरेर बस्छौँ, यात्रु पाए पनि एकजना मात्रै बस्‍न खोज्छन्, यात्रु पनि धेरै जनासँगै बस्‍न चाहँदैनन्, अनि कसरी आम्दानी हुनु रु पेट्रोल हाल्न कठिन भएको छ ।” –रासस

प्रतिक्रिया दिनुहोस्