भोटेकोशी -२ इकुमा पहिरो खस्दा अरनिको राजमार्ग अवरुद्ध

काठमााडौ., २६ असार । अविरल वर्षाले सिन्धुपाल्चोकको भोटेकोशी -२ इकुमा विहिबार विहान खसेको पहिरोले अरनिको राजमार्ग अवरुद्ध भएको छ ।

बिहीबार बिहान ५ बजे भोटेकोशी २ कोदारीस्थित अरनिको राजमार्गमा पर्ने इकुमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख रामेश्वर कार्कीले बताए ।

उनका अनुसार इकुमा सडक माथीबाट पहिरो आएको र सडक तलसम्म भासिएको कारण सडक पूर्ण रुपमा अबरुद्ध भएको हो । ‘माथिबाट पहिरो तलबाट भासिएको छ, तलबाट माटो थेगिने वाल नलगाई सडक खुलाउन समस्या छ’, जिल्ला प्रहरी प्रमुख कार्कीले भने, ‘सडक खुलाउने बारेमा सडक विभागसँग समन्वय भइरहेको छ ।’

सडक पूर्ण रुपमा बन्द भएपछि तातोपानी नाका हुँदै राजधानी जान लागेका मालबाहक कन्टेनर भन्सार क्षेत्रमै रोकिएका छन् । त्यस्तै यात्रुबाहक बस, साना–ठूला सवारीसाधान, एम्बुलेन्स रोकिएका छन् ।

बुधबार मात्र केरुङ नाकामा रोकिएका पर्यटकहरुलाई कोदारी नाका हुँदै काठमाडौं पठाइएको थियो । चीनतर्फबाट आएको बाढीले केरुङनाकाको संरचना भत्काइदिएपछि त्यस नाकाबाट नेपाल आउन लागेका पर्यटकहरुलाई सिन्धुपाल्चोकको कोदारी नाकाबाट भित्र्याइएको थियो ।

केरुङ नाका अबरुद्ध भएको कारण सिन्धुपाल्चोकको कोदारी हुँदै १२६ जना पर्यटक नेपाल भित्रिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए । उनका अनुसार १२६ पर्यटक मध्ये ७२ जनालाई हेलिकप्टरमार्फत र ६४ जनालाई बसमार्फत काठमाडौंतर्फ पठाइएको थियो । यसले गर्दा यात्रु विरामीहरुलाई सास्ती भोग्नु परेको छ ।

प्रतिक्रिया दिनुहोस्