बाढीका कारण करिब ५ सय मेगावाटका जलविद्युत् आयोजना बन्द
काठमाडौं , असार २६ । बाढीका कारण करिब ५ सय मेगावाटका जलविद्युत् आयोजना बन्द हुन गएका छन् । अविरल भारी वर्षासँगै खोला तथा नदीमा आएको बाढीका कारण करिब पाँच सय मेगावाट विद्युत् उत्पादन बन्द भएको हो ।
नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रको स्वामित्वमा रहेका विद्युत् गृहहरूबाट क्रमशः करिब २४० र २५० मेगावाट विद्युत् उत्पादन बन्द भएको प्राधिकरणले जनाएको छ । । वर्षाका कारण मुलुकभरको विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणाली प्रभावित भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।बाढीका कारण प्राधिकरणका विद्युत् गृहबाट करिब ४० प्रतिशत विद्युत् उत्पादन बन्द भएको उनले बताए ।
बाढीका कारण नेपालकै सबैभन्दा ठूलो १४४ मेगावाटको कालीगण्डकी ‘ए’ विद्युत्गृह शुक्रबार बिहान ८ बजेबाट बन्द भएको छ । कालीगण्डकी नदीमा पानीको वहाव झन् बढेर आएकाले विद्युत्गृह कतिबेला सञ्चालन गर्न सकिन्छ अहिले नै केही भन्न नसकिने केन्द्रका प्रमुख पशुपति गौतमले जानकारी दिए ।
प्राधिकरणका ७० मेगावाटको मध्यमर्स्याङ्दी, १६ मेगावाटको त्रिशुली, १४ मेगावाटको देवीघाट विद्युत्गृह बन्द छन् । निजी क्षेत्रको ४५ मेगावाटको माथिल्लो भोटेकोशीलगायतका विद्युत्गृहको करिब २४० मेगावाट विद्युत् उत्पादन भएको छ।
भारी वर्षाले इलामको सिद्धीथुम्कामा काबेली करिडोर प्रसारण लाइनमा क्षतिपुग्दा यस लाइनमा जोडिएका विद्युत् आयोजनाहरूको करिब १५० मेगावाट विद्युत् उत्पादन बन्द भएको छ ।
‘विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणाली प्रभावित हुँदा विद्युत् आपूर्तिमा गडबढ भएको छ भनेकरिब ५ सय मेगावाट उत्पादन हुँदा पनि केही ठाउँमा न्यूनतम विद्युत् कटौती गरी आपूर्तिको व्यवस्थापन गरिरहेका घिसिङले बताए । उाले भने, ‘आफ्नो उत्पादन बन्द भएपछि कटैया, ढल्केबरबाट आयात गरी विद्युत् आपूर्तिको बन्दोबस्ती भइरहेको छ ।’
उनले बन्द रहेका विद्युत्गृह, प्रसारण तथा वितरण लाइन सञ्चालन गरी विद्युत् आपूर्तिको व्यवस्थापन गर्न प्राविधिक टोली अहोरात्र खटिरहेको जानकारी दिए ।
भारी वर्षाका कारण प्रसारण तथा वितरण लाइनको तार चुँडिने, रुखहरू ढल्दा लाइनमा क्षति पुगी विद्युत् आपूर्तिमा समस्या भएको छ। भारी वर्षाका कारण विद्युत मात्र नभइ देशका विभिन्न ठाउामा बाढी र परिहरोले बाटोघाटो बन्द हुनुका साथै यातायात ठप्प रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्