बालुवाटारमा ओली–प्रचण्ड छलफल शुरु, के होला त सहमति ?

 

काठमाडौं, २३ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० भित्रको विवाद समाधानका लागि नेकपाका दुई अध्यक्षबीच बालुवाटारमा एक्ला–एक्लै छलफल शुरु भएको छ ।

दुई नेताबीचको वार्ता चार बजेलाई तय भए पनि केही ढिला गरी शुरु भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिएका छन् ।

आइतबारयता ओली र प्रचण्डबीच निरन्तर वार्ता हुँदै आएको छ । दैनिक तीन दिनसम्म भएका वार्तामा ओली–प्रचण्डबीच एकले अर्काको कुरा सुन्ने काम भए पनि सहमतिको विन्दु भने पहिचान हुन नसकेपछि उनीहरुबीच पुनः वार्ता भएको हो ।

आजको वार्तामा नेताहरुले सहमतिको विन्दु पहिल्याउने अपेक्षा गरिएको छ । प्रचण्डसहितका शीर्ष नेताहरु प्रधानमन्त्री र अध्यक्षबाट ओलीको राजीनामा मागिरहेका छन् भने ओली राजीनामा बाहेकमा विषयमा मात्र छलफल र सहमति गर्न सकिने अडानमा छन् ।

दुई अध्यक्ष आ–आफ्नै अडानमा अडिग रहँदै आएका कारण छलफल निष्कर्षतर्फ अगाडि बढ्न सकिरहेको छैन ।

दुवै पक्षको यहीं अडानका कारण नेकपाभित्रको विवाद छताछुल्ल भएको छ । जसका कारण असार १८ पछि स्थायी कमिटी बैठक समेत बस्न सकेको छैन । स्थायी कमिटी बैठक आगामी शुक्रबार बिहान ११ बजेलाई तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्