हंसपुर नगरपालिकासहित २४९ वडाको मत परिणाम सार्वजनिक

काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचन अन्तर्गत २ नं प्रदेश का आठ जिल्लामा असोज २ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा हंसपुर नगरपालिकासहित २४९ वडाको मत परिणाम सार्वजनिक भएको छ भने अन्य स्थानमा मतगणना कार्य जारी छ । मतगणना भइरहेका १३५ स्थानीय तहमध्ये धनुषा जिल्लाको हंसपुर नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार विजयी भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । मतगणना जारी रहेका १३४ स्थानीय तहमा शान्तिपूर्णरुपमा मतगणना कार्य सञ्चालन भइरहेको निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) ले जनाएको छ । आज अपराह्न ५ः०० बजेसम्म प्राप्त विवरणअनुसार हालसम्म २४९ वडाको मत परिणाम प्राप्त भइसकेको छ ।

सप्तरी जिल्लाका १८, सिरहाका ३५, धनुषाका ४२, महोत्तरीका ३०, सर्लाहीका ४४, रौतहटका ३६, बाराका ३१ र पर्सा जिल्लाका १३ वटा वडाको मत परिणाम सार्वजनिक भएको हो ।

मतगणना कार्यलाई सकेसम्म छिटो सम्पन्न गर्न विभिन्न मतगणनास्थलमा निर्वाचन अधिकृतले थप मतगणना टोली गठन गरी मतगणना कार्य अघि बढाइरहेको जानकारी प्राप्त भएको छ । पछिल्लो समय ३३२ टोली मतगणनाका लागि खटिएको आयोगले जनाएको छ ।

सप्तरी जिल्लाको राजविराज नगरपालिकाको वडा नंं १५ मा राजपाका वडाध्यक्षका उम्मेदवारको निधन भई स्थगन भएको निर्वाचन भोलि असोज ५ गते मतदान हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्