नेताहरुको दौडधुप बाक्लियो, दाहालसहित खनाल र नेपाल राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे
काठमाडौँ । राष्ट्रपति निवास शीतल निवासमा नेताहरुको दौडधुप बाक्लिएको छ ।
सत्तारुढ दल नेकपाभित्र आन्तरिक विवाद चर्किरहेका बेला एकपछि अर्का नेताहरु राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पुगेका हुन । आइतबार विहान ११ बजे नेकपाकै शीर्ष नेताहरु शीतल निवास पुगेका छन् ।
नेकपा अध्यक्ष पुष्पकमल दाहालसहित बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका हुन । त्यस्तै नेताहरु बामदेव गौतम र नारायणकाजी श्रेष्ठ पनि शीतल निवास पुगेका छन् ।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिरहेका नेताहरू राष्ट्रपति भण्डारीलाई भेट्न पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यसअघि शनिबार साँझ प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई भेटेका थिए । राष्ट्रपतिलाई भेटेर फर्किएपछि ओलीले मन्त्री र राज्यमन्त्रीलाई भेला गरेर राष्ट्रपतिलाई महाअभियोग र आफूलाई दुवै पदबाट हटाउने षड्यन्त्र भएको बताएका थिए ।
यसैबीच यता सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०मा शक्ति संघर्षले निम्त्याएको टकराव थप पेचिलो बन्दै गएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्ड एवं बरिष्ठ नेता माधव कुमार नेपाल समूहको शक्ति संघर्षले फुटको जोखिममा पुगेको नेकपालाई निकास दिने प्रयासस्वरूप आज अध्यक्षद्वयबीच निर्णायक वार्ता हुन लागेको हो ।
प्रधानमन्त्री ओलीसहित शीर्ष नेताहरु आआफ्ना अडानमा अडिग भएपछि पार्टी विभाजनको मोडमा पुगेको टिप्पणी नेकपाकै नेताहरुले गरिरहेका छन् । पार्टी स्रोतका अनुसार दिउँसो प्रचण्ड र ओलीबीच भेटघाट हुने कार्यक्रम तय भएको छ ।
प्रतिक्रिया दिनुहोस्