प्रधानमन्त्रीको अभिव्यक्तिबारे चर्को बहस, प्रचण्डसहित शीर्ष ४ नेताले मागे प्रमाण

काठमाडौं , असार १६ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को चौथो दिनको बैठक आज पनि जारी नै रह्यो , बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिबारे चर्को बहस भएको छ । शीर्ष नेताहरुले नै बैठकमा ओलीको अभिव्यक्तिबारे प्रमाण माग गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल र सचिवालय सदस्य मामदेव गौतमले भारतले सरकार ढाल्न लागेको भन्ने ओलीको अभिव्यक्तिप्रति प्रश्न गरेका हुन् ।

उनीहरुले भारतले सरकार ढाल्न लागेको भन्ने प्रमाण के छ भन्दै ओलीसँग प्रश्न गरेको एक स्थायी समिति सदस्यले जानकारी दिए । उनीहरुले बिनाआधारमा टिकाटिप्पणी गर्दा गलत सन्देश जान सक्ने भन्दै यसप्रति सचेक हुन जरुरी रहेको समेत धारणा राखेका थिए ।

बैठकमा बोल्दै शीर्ष नेताहरुले ‘सरकार ढलाउन दूतावास सक्रिय भएको हो या अरु कोही रु’ भन्ने प्रश्न समेत ओलीसमक्ष राखेका थिए । चार नेताले बोल्दा ओली बैठकमा सहभागी रहेका थिए भने चिया ब्रेकपछि सुरु भएको बैठकमा भने ओली सहभागी नरहेको बताइएको छ । नेताहरुले प्रश्न उठाएपछि ओलीलाई बैठकलाई स्पष्ट जानकारी दिनुपर्ने दवाव बढेको छ ।

प्रधानमन्त्री ओलीले आइतबार जननेता मदन भण्डारीको ६९ औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भारतले आफ्नो सरकार ढाल्ने प्रयास गरिरहेको आरोप लगाएका थिए ।

नेताहरुमा देखिएको ध्रुवीकरण, सरकारको काम गर्ने शैली र प्रधानमन्त्रीले पछिल्लो पटक दिएका अभिव्यक्तिले गर्दा नेकपाको जारी बैठक थप पेचिलो बन्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्