ललितपुर महानगरले ल्यायो ४ अर्ब ७९ करोडको बजेट, विराटनगर महानगरको  ३ अर्ब ३७ करोड

काठमाडौं , असार १० । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४ अर्ब ७९ करोड १५ लाख ६२ हजार ५ सय १५ रुपैयाँको बजेट विनियोजन गरेको छ । बुधबार महानगरमा मेयर चिरीबाबु महर्जनले बजेट सार्वजनिक गरेका हुन् ।

महानगरले कारोनाका कारण क्षति पुगेको अर्थतन्त्रलाई उकास्न विशेष नीति लिएको जनाएको छ । कारोना संक्रमण फैलिन नदिन गरिएको लकडाउन अवधिको विभिन्न करमा १० प्रतिशत छुट दिने मेयर महर्जनले बताए ।

बजेटमा करसम्बन्धी नयाँ कार्यक्रमहरू पनि समावेश भएका छन् । विद्युतीय माध्यमबाट कर तिर्न सकिने र निःशुल्क रुपमा कर चुक्ताको प्रमाण पत्र उपलब्ध गराउने महानगरको नीति छ ।

यसैगरी महानगरले सम्पत्ति करमा कडा रुपमा प्रस्तुत हुने नीति लिने भएको छ । बैङ्कमा खाता खोल्न, खानेपानीको धारणा जडान गर्नेलगायत कामका लागि सम्पत्ति कर चुक्ताको प्रमाण पत्र पेश गर्नैपर्ने नीति लिने महानगरले बताएको छ ।

यसका लागि सम्बन्धित कार्यालयहरूसँग समन्वय गरिने महानगरको बजेटमा उल्लेख छ ।

विराटनगर महानगरको बजेट ३ अर्ब ३७ करोड

। विराटनगर महानगरपलिकाले आगामी आर्थिक वर्षका लागि २०७७र७८ का लागि ३ अर्ब ३७ करोड ८१ लाख १० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ।

बुधबार बसेको छैठौं नगरसभाले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको भन्दा दुई अर्ब ५२ करोड ९३ लाख भन्दा कम आकारको बजेट सार्वजनिक गरेको हो ।

चालू आर्थिक वर्षका लागि महानगरले ५ अर्ब ९० करोड ७४ लाख ४७ हजार ७ सय ५० रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । चालु आर्थिक वर्षमा विराटनगरमा एसियाली विकास बैङ्कको क्षेत्रीय सहरी विकास परियोजनाको मात्रै एक अर्ब ७७ करोड २३ लाख ५५ हजार बजेट भएकाले बजेटको आकार ठूलो भएको थियो ।

महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्कीले आगामी आर्थिक वर्षमा आन्तरिक करबाट ८९ करोड ८२, राजस्व बाँडफाँटबाट ७६ करोड ८२ लाख आम्दानी हुने बताइन् । त्यस्तै, वित्तीय समानीकरण अनुदान ३८ करोड ७ लाख, संघीय सरकारबाट सशर्त अनुदान एक अर्ब २ करोड र प्रदेशबाट सशर्त दुई करोड ९० लाख अनुदान प्राप्त हुने महानगरले बताएको छ।

त्यस्तै, संघीय सरकार विशेष अनुदानबाट १३ करोड रुपैयाँ, प्रदेशबाट समपूरक अनुदानबाट ३ करोड, वैदेशिक तथा अन्य संघसंस्थाको अनुदानबाट तीन करोेड २६ लाख महानगरपालिकामा प्राप्त हुने बजेटमा उल्लेख गरेको छ ।

महानगरपालिकाले पुँजीगत खर्चतर्फ एक अर्ब ७१ करोड ७९ लाख ६५ हजार रुपैयाँ र प्रशासनिक खर्चतर्फ ३४ करोड १९ लाख ५० हजार, सामाजिक सुरक्षाका लागि ३६ करोड रुपैयाँ खर्च हुने बताएको छ ।

महानगरपालिकाले स्वास्थ्यतर्फ १९ करोड ५७ लाख ९५ हजार रुपैयाँ, शैक्षिक विकास कार्यक्रममा ५६ करोड १३ लाख ५ हजार रुपैयाँ, महिला, बालबालिका, युवा विकास तथा खेलकुदमा दुई करोड ९ लाख रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, फोहोर व्यवस्थापनका लागि ल्याडफिल साइटको जग्गा खरिद तथा फोहोरमैला व्यवस्थापनमा ११ करोड ४९ हजार ५० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

चालु आर्थिक वर्षमा महानगरको आन्तरिक आम्दानी ५९ करोड ९८ लाख १५ हजार थियो । लकडाउनका कारण कर नउठेको अवस्थामा महानगरले आगामी वर्षका लागि करिब ३० करोड भन्दा बढी आन्तरिक स्रोत बढ्ने अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्