नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दिउँसो ६ घण्टा बन्द
काठमाडौं –नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दिउँसो ६ घण्टा बन्द हुने भएको छ ।
बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म यो सडकखण्डमा गाडी चलाउन रोक लगाइने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ ।
तर ट्राफिक प्रहरीले भने बिहान ९ बजेदेखि नै गाडी चल्न रोक लगाउने तयारी गरेको जनाएको छ । गाडी रोकेर राति सडक विस्तारको काम भइरहेकोमा काम गर्न कठिन भएपछि शनिबारदेखि दिउँसो नै गाडी रोकेर काम गर्न लागिएको हो ।
सडक विस्तारका क्रममा चट्टान काट्नेलगायत जोखिमपूर्ण काम हुने भएकाले गाडी रोक्नुपरेको आयोजना प्रमुख चन्द्रनारायण यादवले बताए ।
नारायणगढबाट छिर्ने यात्रुबाहक गाडीलाई दासखोला पुल अगाडि, मालबाहक गाडीलाई भतेरी जंगलमा मुग्लिन हुँदै छिर्ने यात्रुबाहक बसलाइ मुग्लिन बजार र बेनीटारमा तथा मालबाहक गाडीलाई लेबारटार आँबुखैरेनीमा रोकिने चितवनका ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्तले जानकारी दिए ।
दिउँसो सडकखण्ड बन्द हुने भएकाले यात्रु र चालकलाई बैकल्पिक सडक प्रयोग गर्न आयोजनाले आग्रह गरेको छ । यो सडक विस्तारको लागि तीन पटक समय थपिए पनि अझै पूरा भएको छैन ।
आउँदो चैतसम्म काम सक्ने आयोजनाले बताए पनि निर्माण कम्पनीले सडक निर्माणको काम पूरा हुन नसक्ने बताउँदै आएको छ । सडक विस्तार पूरा नहुँदा यात्रुले २४ घण्टासम्म जाममा बस्नुपर्ने बाध्यता छ ।
प्रतिक्रिया दिनुहोस्