बिजुलीको महसुल घट्यो, अब कति खपतको कति तिर्नुपर्छ ?
काठमाडौं, असार ३ । विद्युत नियमन आयोगले बिजुलीको महसुल समायोजन गरेको छ ।
नेपाल विद्युत प्राधिकरणले पठाएको प्रस्ताव अनुसार बिजुलीको महसुल समायोजन भएको हो । असार १ गते बसेको सञ्चालक समितिको बैठकले बिजुलीको महसुल समायोजन गर्ने र ट्रंक लाइन तथा डेडिकेटेड लाइन खारेज गर्ने निर्णय गरेको हो । लकडाउनका कारण आर्थिक उपार्जन लगायतका कृयाकलापमा संलग्न हुन नपाएका सर्वसाधारणलाई सरकारको यो निर्णयबाट केही राहत मिलेको छ ।
विद्युत नियमन आयोगले यही असार महिनाको खपतमा लागू हुनेगरी नयाँ महसुल निर्धारण गरेको हो ।
५ एम्पियर लाइन लिएर न्यनतम् मासिक १० युनिटसम्म खपत गर्ने तल्लो तहका ग्राहकलाई ३० रुपैयाँ मात्रै डिमान्ड शुल्क लगाइएको छ । उनीहरुलाई विजुली भने निःशुल्क दिइने भएको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरदर १० प्रतिशत विद्युत महशुल दर घटेको बताए ।
कति खपतको कति तिर्नुपर्छ ?
अब सिंगलफेज मिटर जोड्ने ग्राहकले ११ देखि २० युनिटसम्म खपत गर्दा डिमान्ड शुल्क ३० रुपैयाँ तिर्नुपर्ने छ । प्रतियुनिट शुल्क ३ रुपैयाँ कायम भएको छ ।
२१ देखि ३० युनिटसम्म खपत गर्नेले ५० रुपैयाँ इनर्जी शुल्क र ६.५० रुपैयाँ प्रतियुनिट विद्युत महसुल हिसाव गरेर तिर्नुपर्नेछ ।
३१ देखि ५० युनिट खपत गर्ने ग्राहकले ५० रुपैयाँ डिमान्ड शुल्क र ८ रुपैयाँ प्रतियुनिट महसुल तिर्नुपर्ने छ ।
५१ देखि १०० युनिटसम्म खपत गर्दा ७५ रुपैयाँ डिमान्ड शुल्क र ९.५ रुपैयाँ प्रतियुनिट महसुल तिर्नुपर्ने भएको छ ।
त्यसैगरी १०१ देखि १५० युनिटसम्म खपत गरेमा घरेलु ग्राहकले १०० रुपैयाँ डिमान्ड शुल्क र ९.५० रुपैयाँ प्रतियुनिट शुल्क तिर्नुपर्ने भएको छ ।
१५१ देखि २५० युनिटसम्म खपत गर्ने ग्राहकका लागि १२५ रुपैयाँ डिमान्ड शुल्क र १० रुपैयाँ प्रतियुनिट महसुल तोकिएको छ ।
२५१ देखि ४०० युनिटसम्म खपत गर्दा १५० रुपैयाँ डिमान्ड शुल्क र ११ रुपैयाँ प्रतियुनिट महशुल तिनुपर्ने हुन्छ ।
४०० युनिटभन्दा माथि विजुली खपत गर्ने घरासयी ग्राहकले १५० रुपैयाँ डिमान्ड शुल्कसहित १२ रुपैयाँ प्रतियनिट विजुली महसुल तिर्नुपर्ने छ ।
आयोगले घरायसी ग्राहकको लागि १५ एम्पियर, ३० एम्पियर र ६० एम्पियरसम्म विजुली लाइन लिँदा पनि खपतका आधारममा फरक( फरक दर तोकेको छ ।















प्रतिक्रिया दिनुहोस्