स‌ंविधान संशोधनमा अनुपस्थित हुनेलाई नेकपाले सोध्यो स्पष्टिकरण , को -को परे ?(पत्रसहित)

काठमाडौं, असार २ । संविधान संशोधनमा अनुपस्थित हुने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ४ सांसदलाई नेकपाले कारवाही प्रक्रिया सुरु गरेको छ ।संसदीय दलले चार सांसदहरुलाई स्पष्टीकरण सोधेको छ ।

संविधान संशोधनमा अनुपस्थित हुनेमा हरिबोल गजुरेल, धनबहादुर बुढा, गोपालबहादुर बम र शिवकुमार मण्डललाई स्पष्टिकरण सोधिएको हो ।

नेपाल सरकारले ७ जेठमा भारतले अतिक्रमण गरेको भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूभाग समेटेर राजनीतिक नक्सा प्रकाशन गरेको थियो ।उक्त नक्सालाई निशान अध्यावधिक गर्नका लागि संविधान संशोधन गरेको छ ।

उक्त संविधान संशोधनमा सबै दलले एकमत भएर पक्षमा भोट हालेका थिए । समाजवादी पार्टीकी सरिता गिरीले भने विपक्षमा संशोधन दर्ता गराएकी थिइन् ।
अन्तिम समयमा आएर उनको प्रस्ताव अस्वीकृत भएको थियो ।

तर, सत्तारुढ दलकै चार जना सांसद संविधान संशोधनमा अनुपस्थित थिए । अनुपस्थित भएका चारै जना सांसदलाई नेकपाको संसदीय दलले स्पष्टीकरणसहितको पत्र पठाएको छ ।

पत्रमा भनिएको छ, ‘दलको विधानको दफा ३० को उपदफा १ र २ अनुसार के कति कारणले अनुपस्थित हुनुभएको हो रु पत्र प्राप्त भएको मितिले ५ दिनभित्र दलको कार्यालयमा उपस्थित भई लिखित स्पष्टीकरण दिनु हुन निर्देशन गरिन्छ ।’

नेकपाको संसदीय दलले संसदमा संविधान संशोधनको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्वीप नै जारी गरेको थियो । दलको ह्वीप नै नमानेर विनासूचना अनुपस्थित भएकाले चारै जनालाई संसदीय दलले पत्र पठाएको छ ।

उनीहरूलाई संसदीय दलको कार्यालयको पत्रमा ५ दिनभित्रमा दलको कार्यालयमा उपस्थित भई लिखित रूपमा स्पष्टीकरण दिन निर्देशन दिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्