कृषिमा ७४ करोड वृद्धि

काठमाडौं, असार २ । गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०७७/७८ मा कृषितर्फको बजेट वृद्धि गरेको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको नयाँ बजेट ३४ अर्ब ८४ करोड २१ लाख ६० हजारमध्ये कृषि, सहकारी तथा भूमि व्यवस्थातर्फ तीन अर्ब १६ करोड १० लाख विनियोजन गरिएको छ ।

चालू आवमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको बजेट प्रदेश सरकारको एक अर्ब ६७ करोड तथा संघीय सरकारबाट ससर्त अनुदान ७५ करोड गरी दुई अर्ब ४२ करोड रहेकामा आगामी वर्षमा र ७४ करोड १० लाख वृद्धि गरिएको हो ।

आगामी आवमा कोभिड–१९ का कारणले रोजगारी गुमाएर बिदेसिएका नागरिक स्वदेश फर्किने अनुमानसहित सरकारले देशभित्रै रोजगारी सिर्जना तथा स्वरोजगार बनाउने तथा उत्पादन वृद्धिका कार्यक्रमलाई बजेटमा समेटेको छ ।

बजेटमा एक पालिका, एक उत्पादन कार्यक्रमलाई प्रभावकारी बनाउन विभिन्न अन्नबाली, फलफूल, नगदेबाली तथा तरकारी र पशुपक्षी तथा मत्स्यपालनका पकेट क्षेत्र स्थापना र विस्तार गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

भूबनोट र सम्भाव्यताका आधारमा आलु खेती, चैते धान, अगौटे सुन्तला, कागती, अलैँची, कफी, च्याउ, रेशम खेती, घाँसेबाली, मौरीपालन जस्ता कार्यक्रमलाई निरन्तरता दिँदै यसका लागि दुई करोड बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्