भीडभाड हुने शाखा बिहान ८ बजेदेखि नै खोल्न बैंकहरुलाई निर्देशन

काठमाडौं, जेठ ३२ । बैंक तथा वित्तीय संस्थाहरुलाई भीड हुने शाखाहरु बिहान ८ बजेदेखि नै सञ्चालन गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ।

ती शाखाहरु दुई सिफ्टमा सञ्चालन हुने छन्। बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म एउटा सिफ्ट र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म अर्को सिफ्ट गरी संचालन गर्न राष्ट्र बैंकले भनेको छ।

यसअघि मन्त्रिपरिषद बैठकले बैंक तथा वित्तीय संस्था तथा सरकारी कार्यालय असार १ देखि दुई सिफ्टमा सञ्चालन गर्नेगरी लकडाउन खुकुलो पारेको थियो। सोही निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले सर्कुलर गरेको हो।

राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाहरुले नै मूल्यांकन गरी बढी भीडभाड हुने स्थानहरुमा आवश्यकताअनुसार दुई सिफ्टमा सेवा प्रदान गर्नुपर्नेछ।

त्यस्तै सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीको स्वास्थ्य सुरक्षा तथा संक्रमणको सम्भावनालाई न्यूनीकरण गर्न आवश्यक स्वास्थ्य सुरक्षाका न्यूनतम उपायहरु अवलम्वन गर्न निर्देशन दिइएको छ।

सेवाग्राहीमा एकअर्काको दुरी कायम राख्न पनि राष्ट्र बैंकले भनेको छ।

प्रतिक्रिया दिनुहोस्