देश बेच्ने राष्ट्रघातीलाई टुँडिखेलमा झुण्डाउनु पर्छ : राजेन्द्र महतो

काठमाडौं, जेठ ३१ । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावलाई असन्तुष्टिलाई थाति राखेर समर्थन गर्ने बताएका छन् । राष्ट्रियता, राष्ट्रवादका विषयमा अनुहार हेरेर परिभाषा गरिने गरेको उल्लेख गर्दै उनले आफूहरुले कतिपटक अग्नीपरीक्षा दिने हो रु भनी प्रश्न गरेका थिए ।

“सबै असन्तुष्टिका बाबजुद पनि राष्ट्रियता र भूमिको सवालमा ल्याइएको संविधान संशोधन प्रस्तावलाई जनता समाजवादी पार्टीले समर्थन गर्दछ,” उनले भने, “प्रत्येक मधेसी जनता सीमाको रक्षामा जुटेका छन् । तर मधेसीलाई अहिले पनि राष्ट्रवादी देखिँदैन । हामी कतिपटक अग्नि परीक्षामा रहने हो । प्रधानमन्त्रीज्यू, अन्याय नगर्नुस् । सबैको बन्नुस् । भूमिमात्रै होइन, जनतालाई पनि हेर्नुस् । अब नक्सामात्रै होइन । भूमि पनि ल्याउनुस् ।”

प्रतिनिधि सभाको जारी बैठकमा नेपालको संविधान दोस्रो संशोधन विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै उनले एक जाति, एक पार्टी, एक समुदायको मात्रै राष्ट्रियता, राष्ट्रवाद हुन नसक्ने भन्दै यसबारे अब स्पष्ट पार्नुपर्ने बताए ।

संविधान संशोधन गरेर नेपाली भूमि फिर्ता ल्याउने काम ऐतिहासिक रहेको भन्दै उनले भूगोलले मात्रै राष्ट्रियता कायम नहुने बताए । हिमाल, पहाड र तराईका जनताको भावनाको कदर गर्नुपर्ने भन्दै उनले तिनै जनताले उठाएको माग सम्बोधन गर्न संविधान संशोधन नगर्नु दुखद् भएको बताए । आफूहरुको असन्तुन्टिलाई थाती राखेर नेपाली भूमि फिर्ता ल्याउन गरिएको नेपालको संविधान संशोधन दोस्रो विधेयकको पक्षमा आफ्नो पार्टी जनता समाजवादी पार्टीले गर्ने उनले जानकारी दिए ।

महाकाली सन्धि गरेर राष्ट्रघात गरेको भन्दै उनले नेपाली भूमि गुमाउने गरी सम्झौता गर्ने राष्ट्रघातीलाईलाई कारबाही गर्नुपर्ने बताए । ‘देश बेचुवा राष्ट्रघातीाई टुंडिखेलमा झुण्डाउनु पर्दैन’, उनले भने । राष्ट्रघातीको पहिचान गर्नुपर्ने भन्दै उनले मधेशीलाई राष्ट्रविरोधीको रुपमा नहेर्न अपिल गरे । पटक पटक मधेशी जनताले अग्निपरीक्षा दिइरहनु पर्ने उनको आक्रोश थियो ।

रंग र भूगोलको आधारमा राष्ट्रवाद हेर्ने नश्लवाद अन्त्य हुनुपर्ने भन्दै उनले नेपालको भूमिको रक्षा मधेशका जनताले गर्दै आएको जानकारी दिए । उनीहरुका माग सम्बोधन गर्न पनि संविधान संशोधन नगरे मौजुदा संविधान फेल हुने उनको चेतावनी थियो । नक्सा जारी गरेर मात्रै नहुने भन्दै उनले जमिन फिर्ता ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिए । मोदी र ओलीले दुई देशको सम्बन्ध नबनाएको भन्दै उनले दुवै देशका जनताले बनाएको भन्दै वार्ता गरेर जमिन फिर्ता ल्याउन माग गरे ।

प्रतिक्रिया दिनुहोस्