बिदाको दिन पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन
काठमाडौं , जेठ २१ । व्यवसायीहरुले फागुन र चैतको कर जेठ २५ भित्र तिर्नै पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जेठ २५ गतेसम्म शनिबार तथा सार्वजनिक बिदा परे पनि राजस्व संकलन गर्ने शाखा सञ्चालन गर्न निर्देशन दिएको छ । यसले सरकारले चैतबाट सार्दै आएको कर बुझाउने समय अब नथप्ने प्रष्ट भएको छ ।
राष्ट्र बैंक नियमन विभागले एक सूचना जारी गर्दै २०७६ फागुन र चैत महिनाको कर विवरण आय विवरण तथा ती विवरणका आधारमा कर दाखिला गर्ने मिति जेठ २५ सम्म भएकाले उक्त मितिसम्म शनिबार अथवा सार्वजनिक बिदा भए पनि शाखा तथा काउन्टरहरु खोल्न निर्देशन दिएको छ ।
राष्ट्र बैंकको सूचनामा भनिएको छ, “गत फागुन र चैतको कर दाखिला गर्ने मिति २०७७ जेठ २५ सम्म तोकिएकाले सो मितिसम्म शनिबार लगायत जुनसुकै सार्वनजिक बिदामा समेत राजस्व बुझ्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैंक लगायत राजस्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाको सम्पूर्ण राजस्व संकलन शाखा एवम् बैंकको क्लियरिङ गर्ने काउन्टर, तथा नेपाल क्लियरिङ हाउस पूर्णकालीन रुपमा खुला गर्ने व्यवस्था मिलाउन हुन ।”
राष्ट्र बैंकको उक्त निर्देशनपछि बैंकका राजस्व संकलन गर्ने शाखा २४ गते शनिबार समेत खोल्नुपर्ने भएको छ ।















प्रतिक्रिया दिनुहोस्