कांग्रेसले दियो १४ खर्बसम्मको बजेट ल्याउन सुझाव

काठमाडौं , जेठ ११ । नेपाली कांग्रेसले आगामी आर्थिक वर्षका लागि १४ खर्बसम्मको बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ ।

कांग्रेसले गठन गरेको अर्थतन्त्र विशेष समितिले सरकारलाई चालु वर्षमा खर्च नभएको रकम र केन्द्रीय बैंकको ओभर ड्राफ्टसमेतको सम्भावित आँकलन गरी साढे १३ देखि १४ खर्बसम्मको बजेट ल्याउन सुझाव दिएको हो ।

नेपाली कांग्रेसले केही समयअघि पूर्वअर्थमन्त्री डा। रामशरण महतको संयोजकत्वमा एक अर्थतन्त्र विशेष समिति गठन गरेको थियो । उक्त समितिले अध्ययन गरी २७ पृष्ठ लामो प्रतिवेदनको मस्यौदा तयार पार्दै सरकारलाई १४ खर्बसम्मको बजेट ल्याउन सुझाव दिएको हो ।

प्रतिवेदनमा सार्वजनिक खर्चको पुनप्राथमिकीकरण, मितव्ययीता तथा आर्थिक अनुशासनबाट खर्चलाई बाञ्छित सीमामा राख्न सुझाव दिइएको छ । समितिले आरटी पीसीआर विधिबाट गरिने परीक्षणलाई ब्यापकता दिई कम्तीमा जनसंख्याको २ देखि ३ प्रतिशत व्यक्तिमा तत्काल परीक्षणको व्यवस्था गर्न सुझाव दिएको छ । त्यस्तै अग्रपंक्तिमा रहेर काम गरेका चिकित्सक, स्वास्थ्यकर्मी तथा जोखिममा रहेका जनशक्तिहरुको आवश्यकता अनुसार जाँच गर्न सुझाव दिएको छ ।

राजश्व बाँडफाँट गरेपछि संघीय राजश्व ९ खर्बसम्म हुने अनुमान गर्दै कांग्रेसले आन्तरिक ऋण कुल ग्रार्हस्थ उत्पादनको अनुपातमा करीव ५ प्रतिशत रहने गरी २ खर्बको हाराहारीमा उठाउन सकिने बताएको छ । स्रोत, शर्त र क्षेत्र हेरेर विदेशी ऋणपनि २ खर्ब २५ अर्बसम्म उठ्ने र अनुमान गरेको छ ।

सरकारी तथा गैर सरकारी सबै क्षेत्रका स्वास्थ्यकर्मी, चिकित्सक तथा अस्पताल तथा स्वास्थ्य संस्थाका कर्मचारीहरुको लागि कोरोना सम्बन्धि अभिमुखिकरण, मापदण्ड अनुसार गुणस्तरीय ब्यक्तिगत सुरक्षा सामग्री, जीवन बिमा, प्रोत्साहन तथा जोखिम भत्ताको व्यवस्था गर्न पनि कांग्रेसले सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस्