लकडाउनमा पनि काम धमाधम हुँदै
काठमाडौं, जेठ १० । कोरोनाको कहर थप विस्तार हुन थालेको छ । सरकारले ‘लकडाउन’ जारी राखेको छ । धेरैजसो विकास निर्माणका काम ठप्प छन् ।
विषम अवस्थामा पनि विकास निर्माणको कामलाई प्रभावकारीरुपमा अगाडि बढाउने साहस पनि यहीबीचमा प्रदर्शन भइरहेको छ ।
बन्दाबन्दीको समय आफैंमा कस्टकर भएपनि अन्य उपाय छैन, सरकार र नागरिकका सामु । यहीबीचमा केही आयोजनाले भने आशाको सञ्चार गरिरहेका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निर्माणाधीन आयोजनालाई कसरी अगाडि बढाउने भन्ने स्म्बन्धमा स्पस्ट दृष्टिकोण तयार पारेका कारण काम धमाधम भइरहेको छ ।
आगामी असारभित्रै देशको सबैभन्दा ठूलो सबस्टेसनको निर्माण सम्पन्न हुँदैछ । माथिल्लो तामाकोसीको काम पनि गतिमा नै छ ।यसले विपद्मा पनि सामाजिक दूरी कायम राख्दै विकास निर्माणको काम अगाडि बढाउन सकिन्छ भन्ने स्पस्ट सन्देश दिएको छ ।
मुलुकको आर्थिक समृद्धिको प्रमुख आधारको रुपमा रहेको ऊर्जा क्षेत्रमा भए–गरेका कामलाई थप सहजीकरण गर्न हरदम प्रयास भइरहेको छ ।
स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय अवलम्बन गरेर भएका कामले नागरिकमा विश्वासमात्रै पैदा भएको छैन, इमान्दर भएर काम गर्दा परिणाम निकाल्न सकिन्छ भन्ने आत्मविश्वाससमेत पैदा भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लकडाउनको अवधिलाई पनि सकेसम्म परिणाममुखी बनाउन हरदम प्रयत्न गरिरहेका छन् ।सोही कारण केही आयोजनाले लकडाउनमा समेत नेपाली नागरिकलाई खुसी तुल्याउन सहयोग पुर्याएको छ ।
ऊर्जा मन्त्रालय र प्राधिकरणको एकीकृत कार्ययोजनाका कारण कालीगण्डकी करिडोर २२० केभी प्रसारणलाइनअन्तर्गत् म्याग्दीको दाना र पर्वतको कुश्मा खन्ड निर्माण अन्तिम चरणमा पुगेको छ ।
कोरोनाभाइरसको रोकथाम र नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दी ९लकडाउन०काबीच पनि स्वास्थ्य सुरक्षासम्बन्धी प्रावधानहरुको पूर्णपालना गरी स्थानीय सरकार र प्रशासनसँगको समन्वय र सहयोगमा आयोजनाको निर्माण धमाधम भइरहेको विवरण प्राप्त भएको छ ।
दाना र कुश्मास्थित खुर्कोटमा २२०/१३२ केभी सबस्टेसन निर्माणका बाँकी रहेका काम पनि लकडाउनमा जारी छ । दुवै सबस्टेसनका अधिकांश उपकरणहरु जडान भइसकेको प्राधिकरणले जनाएको छ ।
दाना(कुश्मा खन्ड यही असारभित्रमा सञ्चालन ९चार्ज० गर्ने लक्ष्यका साथ काम भइरहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।
सो प्रसारणलाइनको अवस्थाका बारेमा कार्यकारी निर्देशक घिसिङले गत फागुनको अन्तिम सातामा स्थलगत निरीक्षण गरेका थिए ।
पछिल्लोपटक उनले नियमितरुपमा आयोजनाको अवस्थाका बारेमा जानकारी लिँदै स्थानीयस्तरमा समन्वय गरिरहेका छन् ।
यही प्रसारणलाइनमा निजी क्षेत्रका लगानीकर्ताले म्याग्दीमा निर्माण गरिरहेको ४२ मेगावाटको मिस्त्रीखोला जलविद्युत् आयोजनाको विद्युत् जोडिने छ ।
निर्माणको अन्तिम चरणमा रहेको मिस्त्रीखोला र मुस्ताङमा सञ्चालनमा रहेको ११।२ मेगावाटको थापाखोला जलविद्युत् आयोजनाको विद्युत् दाना सबस्टेसनमार्फत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेगरी व्यवस्था गरिएको छ । हाल थापाखोलाको विद्युत् ३३ केभी लाइनमार्फत् प्रवाह भइरहेको छ ।
घिसिङले प्रसारणलाइन अभावमा मिस्त्रीखोलाको विद्युत् खेर जाने अवस्था आउन नदिन लकडाउनमा पनि काम भइरहेको बताए ।
उनले भने–‘गत वैशाखभित्रमा चार्ज गर्ने लक्ष्यका साथ काम भइरहेको थियो । तर, लकडाउनले निर्माण प्रभावित हुनपुग्यो । केही ठाउँमा देखिएको अवरोध खुलाएर काम सुरु गर्न म्याग्दी तथा पर्वतका प्रमुख जिल्ला अधिकारी र स्थानीय तहका प्रमुखहरुको दह्रो साथ र सहयोग पाएका छौं । असारभित्र जसरी पनि चार्ज गर्ने गरी टिम खटिएको छ ।’
दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीले राष्ट्रिय आवश्यकता र चाहनालाई ख्याल गरेर आयोजनामा ठूलो सहयोग पुर्याएको प्राधिकरणको बुझाइ छ ।
स्थानीयस्तरमा हुने सहयोग र समन्वय नै ठूला आयोजनाका लागि प्रेरणाको स्रोत बन्ने गरेको छ ।
प्रसारणलाइनमा हरेक टावर नै एउटा आयोजनाजस्तो बन्ने नेपालको विकासको विकृतिलाई अन्त्य गर्न स्थानीय प्रशासनले गरेको सहयोग आफैंमा अनुकरणयोग्य रहेको प्राधिकरणको भनाइ छ ।
कुल ३९ किलोमिटर दाना–कुश्मा प्रसारणलाइनअन्तर्गत् ११० टावरमध्ये म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरीबगरमा स्थानीयको अवरोधले गर्दा एक टावरमात्रै खडा गर्न बाँकी छ । केही स्थानीयले प्रसारणलाइनमुनि आफ्नो घर परेको भन्दै रुट सार्न माग गर्दै निर्माणमा अवरोध गर्दै आएका थिए ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, गाउँपालिका अध्यक्ष, वडाध्यक्षलगायतको पहलमा स्थानीयसँग छलफल गरी टावर निर्माण अगाडि बढाइएको प्राधिकरणले जनाएको छ ।
अहिले टावर खडा गर्ने काम भइरहेको र तार टांग्ने तथा सबस्टेसनको बाँकी काम सम्पन्न गरी असारभित्रमा लाइन चार्ज गरिने प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।
म्याग्दी र पर्वतमा गरी करिब तीन किलोमिटरमात्रै तार टांग्न बाँकी रहेको आयोजना प्रमुख चन्दनकुमार घोषले जानकारी दिए ।
उनले लकडाउनका कारण श्रमिक अभाव हुँदा निर्माणलाई तीव्रता दिन गाह्रो भएता पनि असारभित्र जसरी पनि चार्ज गरिने बताए ।
कालीगण्डकी नदी बेसिनमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारणलाइनको निर्माण सुरु गरिएको हो ।
करिडोरको दोस्रो खन्डअन्तर्गत् कुश्माबाट नवलपरासीको भुमही ९न्यू बुटवल सबस्टेसन०सम्मको प्रसारणलाइनको निर्माण पनि भइरहेको छ । सो प्रसारणलाइनलाई पनि थप गति दिने प्रयास भइरहेको छ ।
प्राधिकरणका रुग्ण भनिएका आयोजनालाई सम्पन्न गर्न विशेष पहल भइरहेको छ । त्यसले नागरिकमा एक खालको उत्साह ल्याउन सहयोग पुग्ने विश्वास लिइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्