भूकम्प र बाढीपीडितलाई थप एक लाख अनुदान, ६५ वर्षमै वृद्धभत्ता दिने सरकारको निर्णय

काठमाडौं । सरकारले ६५ वर्षसम्मका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले वृद्धभत्ता पाउने ज्येष्ठ नागरिकको उमेर ७० वर्ष राखिएकामा त्यसलाई घटाएर ६५ वर्ष महिला–पुरूष दुवै सम्मलाई दिने निर्णय गरेको हो ।

त्यसैगरी, मन्त्रिपरिषदले भूकम्पपीडित र बाढीपीडितले पाइरहेको राहत रकममा रु एक लाख थप गर्ने निर्णय गरेको सूचना तथा सन्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

सरकारले महिला स्वास्थ्य स्वयंसेविकाको वृद्धि विकासका लागि आर्थिक रकम थप गर्नेसमेत निर्णय गरेको छ ।

सरकारले निजी व्यवसाय दर्ता गर्ने महिला, दलित, विपन्न वर्गको परिचयपत्र भएको व्यक्तिले निजी फर्म दर्ता गर्दा रू एक करोडसम्मको पुँजी भएको फर्मलाई शून्य दस्तुर र सोभन्दामाथिको कम्पनी वा फर्म दर्ता गर्दा ५० प्रतिशत दस्तुर छुट दिने भएको छ । सोहीअनुसार दस्तुरसम्बन्धी नियमावली संशोधन गर्ने निर्णयसमेत गरिएको छ ।

रोयल कनेक्टिभिटी इम्प्रुमेन्ट प्रोजेक्टका लागि ऋण स्वीकार गर्ने, एग्री कल्चर डेभलपमेन्ट कार्यक्रम कार्यान्वयनका लागि स्वीट्जरल्यान्ड सरकारबाट प्राविधिक सहायता लिने निर्णय भएको सरकारका प्रवक्तासमेत रहेका मन्त्री बस्नेतले बताए ।

मन्त्रिपरिषद्को बैठकले महासेनानी विनयविक्रम राणासमेत गरी चारजना महासेनानीलाई पदोन्नति गरी पदस्थापन गर्ने तथा सहायक रथी नवजीवशम्शेर राणासहित ११ सहायक रथीलाई सरुवा गर्ने निर्णय गरेको छ ।

त्यसैगरी, बैठकले गुल्मी जिल्लामा संरक्षित वन घोषणा गर्नेबारे ३७ हजार ८४३ हेक्टर जमिनलाई संरक्षित वन घोषणा गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्