सरकारको नीति तथा कार्यक्रम आज, के-के छन् प्राथमिकतामा ?
काठमाडौं, जेठ २ । सरकारले आज आर्थिक वर्ष २०७७–७८ का लागि नीति तथा कार्यक्रम संघीय संसदमा पेश गर्दैछ ।
आज अपराह्न बस्ने संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । यसका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक अपराह्न ४ बजे संसद भवन नयाँ वानेश्वरमा बोलाइएको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत हुनु अगावै पौने ४ बजे नै सबै सांसदलाई बैठक कक्षमा उपस्थितिका लागि अनुरोध गरिएको संघीय संसद सचिवालयका प्रवक्ता डा। रोजनाथ पाण्डेले जानकारी दिएका छन् ।
कोरोना भाइरसको संक्रमणको त्रासका कारण बैठक कक्षमा सामाजिक दूरी कायम हुने बस्ने व्यवस्था मिलाइएको पनि प्रवक्ता पाण्डेले बताए । संयुक्त बैठकमा प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ५९ सांसद सहभागी हुनेछन् ।
कार्यक्रममा अतिविशिष्ट, विशिष्ट गरी करिब २९ पाहुनालाई आमन्त्रण गरिएको संसद् सचिवालयले जनाएको छ । उपराष्ट्रपति, संवैधानिक निकायका प्रमुख, पूर्वप्रधानमन्त्री, प्रधानसेनापतिलगायत विशिष्ट व्यक्ति पनि बैठकमा सहभागि हुनेछन् ।
अरु बेला बोलाइने गरिएका कूटनीतिक नियोग तथा निजी क्षेत्रका प्रतिनिधिलाई कोभिड–१९ संक्रमणको जोखिमका कारण यस पटक कार्यक्रममा सहभागिताका लागि खबर नगरिएको बताइएको छ । संसद् भवन परिसरमा राष्ट्रिय झण्डा फहराइएको छ भने ध्वजापतकाले चिटिक्क सिंगारिएको छ ।
सत्तारुढ नेकपा नेतृत्वको सरकारले संसदमा तेस्रो पटक नीति तथा कार्यक्रम ल्याउन लागेको हो । यस पटक कोरोना संक्रमणको चपेटमा अर्थ व्यवस्था परेकाले यसैलाई केन्द्रित गरी नीति तथा कार्यक्रम ल्याइदैछ ।
आज नीति तथा पेश गर्ने सरकारले संविधानअनुसार आउँदो जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउने छ ।
यो वर्ष कोरोना भाइरसको महामारीका कारण चौपट भएको अर्थतन्त्र उकास्न विशेष व्यवस्था सहित नीति तथा कार्यक्रम आउने अर्थ मन्त्रालयले जनाएको छ । अर्थमन्त्री डा। युवराज खतिवडाले कोरोना भाइरसको कारण सुस्ताएको अर्थतन्त्र उकास्न विशेष कार्यक्रम ल्याइने बताई सकेका छन् ।
नीति तथा कार्यक्रममा कोरोनाविरुद्ध लड्नको लागि स्वास्थ्य क्षेत्रमा विशेष व्यवस्था सहितको नीति आउने अपेक्षा छ । यस्तै सुलभ सार्वजनिक स्वास्थ्य र पूर्वाधारलाई जोड दिइएको मन्त्रालयले जनाएको छ ।
नीति तथा कार्यक्रममा आर्थिक गतिविधिमा पुनर्जागरण ल्याउने र अर्थतन्त्र गतिशील बनाउने गरी विशेष नीति आउने अपेक्षा छ । यस्तै व्यवसायीहरुलाई करमा सहुलियत दिने र आन्तरिक आर्थिक गतिविधि बढाएर आन्तरिक आयलाई नै सरकारको मुख्य आय स्रोत बनाउने गरी नीति आउने अनुमान छ ।
कोरोनाले चौपट बनाएको व्यवसायलाई करछुट, सहुलियतमा ऋण दिने, कृषी उद्यम बढाउन प्रोत्साहन गर्ने लगायतका कार्यक्रमलार्य सहयोग पुग्ने गरी नीतिमा जोड दिइएको सरकारले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्