वर्तमान सरकारको राष्ट्रवाद वक्तव्यमा सिमित : सभापति देउवा
काठमाडौं , बैशाख २८ । प्रमुख पतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारको राष्ट्रवाद वक्तव्यमा सिमित रहेको आरोप लगाएका छन् । आइतबार सभापति देउवाद्वारा जारी विज्ञप्तिमा राष्ट्रवादको विषय केवल वक्तव्यबाजी मात्र नभएर परिणाममुखी हुनुपर्ने उल्लेख छ ।
विज्ञप्तिमा नेपालको भू–भागमा नेपालको अधिकार र स्वामित्व निर्विवाद ढंगले रहनुपर्ने विषयमा सरकारले गम्भीर कुटनैतिक पहलकदमी मार्फत समाधान खोज्न प्रक्रिया थालनी गर्नुपर्ने भनिएको छ । साथै उनले राष्ट्रियताको प्रश्नमा काँग्रेसको सम्पूर्ण रुपमा सरकारको साथमा रहने पनि बताएका छन् ।
लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका भू–भाग नेपालका हुन् भन्दै विज्ञप्तिमा सरकारमा रहेका बेला होस् या प्रतिपक्षमा छँदा यी भू–भाग बारे नेपाली कांग्रेसले सदैव प्रष्ट धारणा राख्दै र आवश्यक भूमिका निभाउँदै आएको भनिएको छ ।
सभापनि देउवाले सन् २०१५ मे १ मा भारत र चीनका प्रधानमन्त्रीले लिपुलेकबारे बेइजिङमा सहमति गरेपछि काँग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा रहेको सरकारले दुबै देशका सरकारलाई ‘प्रोटेस्ट नोट’ पठाएर नेपालका तर्फबाट प्रष्ट धारणा र गम्भीर असहमति प्रकट गरेको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्