सांसदहरूको गरियो कोरोना परीक्षण

 

काठमाडौं, बैशाख २५ । शुक्रबारदेखि शुरु हुने संघीय संसदको बजेट अधिवेशन अघि प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुको कोरोना भाइरस परीक्षण गरिएको छ । सांसदहरुको कोरोना भाइरस संक्रमण भए–नभएको परीक्षण पीसीआर प्रविधिबाट संसद भवन नयाँ वानेश्वरमा परीक्षण गरिएको हो ।

बिहान १० बजेदेखि राष्ट्रिय सभा सांसद र ११ बजेदेखि प्रतिनिधि सभा सांसदहरुको स्वाब संकलन गरिएको हो । संसद शुरु हुनु अघि स्वास्थ्य सतकर्ताका लागि नमूना परीक्षण गरिएको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले जानकारी दिए ।

परीक्षणको रिपोर्ट भोलि संसद बैठक शुरु हुनुअघिसम्म आउने बताइएको छ । कार्यव्यवस्था परामर्श समितिले पनि संसद भवन छिर्नेहरु सबैको कोरोना भइरस परीक्षण सहित स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको थियो ।

संसद बैठक स्थलमा पनि सांसदहरु बीचको दुरी कायम गरिने गरी व्यवस्था मिलाइएको छ भने संसद प्रवेश गर्नेहरुले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने र ज्वरो जाँच गर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्