सचिवालय बैठक अघि बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता, हुँदैछ यस्तो चलखेल

काठमाडौं , बैशाख २४ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्षद्वय केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुवै अध्यक्षबीच भेटवार्ता भएको हो ।

दुई अध्यक्षबीच आज बस्ने नेकपा सचिवालय बैठकका विषयमा छलफल भएको स्रोतले जानकारी दियो । नेकपाको सचिवालय बैठक अपरान्ह ३ बजेका लागि बोलाइएको छ ।

प्रधानमन्त्री अ‍ोलीले पार्टीमा छलफल नै नगरी अध्यादेश ल्याएपछि नेकपामा विवाद चर्किँदै आएको छ । त्यस्तै आज बिहान उपाध्यक्ष वामदेव गौतम अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए ।

नेकपा सचिवालय सदस्यहरु विष्णु पौडेल र वामदेव गौतमले भैसेपाटी गठवन्धान तोड्दै प्रधानमन्त्री ओलीलाई साथ दिएपछि सचिवालयमा अल्पमतमा परेका नेताहरु स्थायी समिति बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफलमा जुटेका छन् ।

अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ र माधव नेपाल पार्टी नेता नारायणकाजी श्रेष्ठको निवासमा मंगलवार छलफल गरेका थिए ।

ललितपुरको हात्तीवनस्थित श्रेष्ठको निवासमा भएको छलफलका क्रममा उनीहरुले आफूनिकटका स्थायी कमिटि सदस्यलाई अबको बैठकमा कसरी प्रस्तुत गराउने र सचिवालयबाट केके एजेण्डा बनाउने भन्ने विषयमा छलफल गरेको स्रोतको दावी छ ।

प्रधानमन्त्री ओलीले मंगलवार पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसंग समेत छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्