विद्युत् प्राधिकरणलाई मासिक दुई अर्ब घाटा, उत्पादकहरु मारमा

काठमाडौं , बैशाख २४ । लकडाउनका कारण विद्युत् महसुल संकलन नभएपछि निजी क्षेत्रका ऊर्जा उत्पादकहरु मारमा परेका छन् ।

विद्युत् प्राधिकरणले ग्राहकहरुबाट संकलित विद्युत् महसुलबाटै निजी क्षेत्रका ऊर्जा उत्पादकलाई भुक्तानी गर्दै आएको छ ।

लकडाउनका कारण विद्युत् महसुल बुझाउनैपर्ने बाध्यकारी व्यवस्था हटाइएपछि अनलाइन भुक्तानीमा पहुँच भएका ग्राहकले पनि तिरेका छैनन् ।

यसका साथै अहिले विद्युत्को खपत पनि घटेको छ । माग घट्नुका साथै नियमित आम्दानी पनि रोकिँदा प्राधिकरण अहिले मासिक दुई अर्ब रुपैयाँ नोक्सान भइरहेको प्राधिकरणले जनाएको छ ।

विद्युत् माग घटेपछि प्राधिकरणले अहिले ढल्केबर–मुजफ्फपुरबाट पिक समयमा ९० मेगावाट र अन्य समयमा विद्युत् आयात बन्द गरेको छ ।

प्राधिकरणले आफ्ना आयोजनाको पानी खेर फालेर पनि निजी क्षेत्रको विद्युत् खरिद गरिरहेको छ ।

प्राधिकरणले भविष्यमा निजी क्षेत्रको विद्युत् खरीद गर्न सक्दैन कि भन्ने प्रवद्र्धकको चासोमा अधिकारीले वैकल्पिक उपायबारे सरकारसँग छलफल गरिरहेको र निजी क्षेत्रबाट जसरी पनि विद्युत् लिने र भुक्तानी गर्नेबारे छलफल गरीरहेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्