पश्चिमी वायु र स्थानीय वायुको प्रभाव अझै सक्रिय, सतर्कता अपनाउन अनुरोध

काठमाण्डौ , बैशाख १९ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आज देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको छ । काठमाण्डौ उपत्यकामा पनि यसको प्रभाव देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले निकालेको आगामी तीन दिनको मौसम पूर्वानुमान बेलेटिनमा विगत केही दिन यतादेखि नेपालका कायम पश्चिमी वायु र स्थानीय वायुको प्रभाव अझै सक्रिय अवस्थामै रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ । देशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षा हुनसक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको हो ।

अहिले देशको अधिकांश भूभागमा बदली रहनुका साथै केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा भएको छ । दिउँसो पश्चिमी भूभागमा पूर्ण बदली तथा पूर्वी भूभागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । रातको समयमा पश्चिमी पहाडी भूभाग तथा मध्य र पूर्वी भूभागमा सामान्य बदली भइ मध्य र पूर्वी भूभागको धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

शनिबार देशको पश्चिमी भूभाग तथा मध्य र पूर्वी भूभागमा सामान्य बदली रही देशको पहाडी भूभागका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको बताइएको छ । आइतबार देशको धेरैजसो स्थानमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २६ दशमलव आठ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम आठ दशमलव पाँच डिग्री र सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ३३ दशमलव छ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया दिनुहोस्