सांसद प्रकरण: बस्नेत, श्रेष्ठ र खनालविरुद्ध उजुरी दिन जसपाका नेता पुगे टेकुमा
काठमाडौं, बैशाख १४ । आफूलाई पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सांसदहरु महेश बस्नेत र किसान श्रेष्ठले अपहरण गरेको भन्दै समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादवले प्रहरीमा उजुरीका लागि पुगेका छन् ।
जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेताहरु महानगरीय प्रहरी परिसर टेकुमा सांसद डा सुरेन्द्र यादवको राजनीतिक अपहरण गर्नेविरुद्ध किटानी जाहेरी दिन पुगको जसपाका नेता विश्वदीप पाण्डेले जानकारी दिए ।
उजुरी दर्ता गर्न नयाँ बनेको जनता समाजवादी पार्टीका नेताहरू बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, शरदसिंह भण्डारीसहित आइतबार दिउँसो महानगरीय प्रहरी परिसर पुगेका हुन् ।
खनाल, बस्नेत र श्रेष्ठले गत बुधबार सांसद यादवलाई अपहरणको शैलीमा जनकपुरबाट काठमाडौं ल्याएको आरोप समाजवादी पार्टीले लगाएको छ ।
पूर्वआइजिपी खनाल र पूर्वमन्त्री समेत रहेका सांसद बस्नेतले भने आफूहरूले यादवलाई अपहरण गरेको नभई उनले नै बोलाएर काठमाडौं ल्याउन गएको दाबी गर्दै आएका छन् ।
समाजवादी पार्टी फुटाउनका लागि जनकपुरबाट काठमाडौं ल्याइएका सांसद यादवलाई बुधबार राति मेरियट होटलमा राखिएको आरोप समाजवादीले लगाएको छ । उनी बिहीबार बिहान होटलबाट भाग्न सफल भएको दाबी गरिँदै आएको छ ।
तर केहीले भने रातिनै राजपा र समाजवादीबीच एकता भएपछि उनले अपहरणको नाटक गरेको आरोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस्