यसरी सर्छ हेपाटाइटिस बी, बच्ने उपाय यस्ता छन्

काठमाडौं । हेपाटाइटिस भाइरसद्वारा लाग्ने सरुवा रोग हो । यस रोगले मानिसको कलेजोमा असर गर्छ । वर्षात्को समयमा यसको जोखिम बढी हुन्छ । यसको बेलैमा उपचार भएन भने कलेजोको क्यान्सर हुने सम्भावनासमेत उत्तिकै हुन्छ । हेपाटाइटिसलाई एड्सभन्दा पनि खतरनाक मानिन्छ । तर, अविकसित र विकासशील मुलुकमा हेपाटाइटिस बीबारे थुप्रै भ्रम छन् । यी हुन् हेपाटाइटिस बी सर्ने कारण र बच्ने उपाय :

डा. अरुणकुमार सिंह
बालरोग विशेषज्ञ, बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,धरान

हेपाटाइटिस बी भाइरसले कलेजोमा संक्रमण गर्दछ । संक्रमित व्यक्तिको रगत तथा रगतजन्य पदार्थ ग्रहण गर्दा, असुरक्षित यौन सम्पर्क, अंग प्रत्यारोपण गर्दा हेपाटाइटिस सर्ने गर्छ ।

रोगबाट ग्रसित आमाबाट जन्मेको बच्चा, असुरक्षित लागूऔषधको सुईको प्रयोग गर्नेजस्ता व्यक्तिलाई हेपाटाइटिस लाग्न सक्छ ।

त्यस्तै सर्जन, ल्याबमा काम गर्ने स्वास्थ्यकर्मीहरू पनि हेपाटाइटिसको उच्च जोखिममा हुन्छन् । खाना तथा पानीको माध्यमबाट भने हेपाटाइटिस बी सर्दैन ।

लक्षण
शरीरमा जीवाणु प्रवेश गरेको करिब ३० देखि १ सय ८० दिनमा यसको लक्षण देखिन्छ । प्रायः व्यक्तिमा पहिलो चरणमा कुनै लक्षण देखिँदैन । जन्डिस, वाकवाकी लाग्ने, खाना मन नलाग्ने, पेट दुख्ने, उल्टी गर्ने आदि यसका यसका सुरुवाती लक्षण हुन् । कतिपयमा कलेजोको संक्रमण भई सिरोसिस तथा क्यान्सरसमेत हुनसक्छ ।

यसको ९० प्रतिशत दीर्घ संक्रमण नवजात शिशुमा देखिएका उदाहरण छन् ।

उपचार
हेपाटाइटिसको निश्चित उपचार छैन । पौष्टिक आहार, झोलिलो खानेकुरा र स्वस्थ्यकर जीवनशैली यसको उपचार हो।

हेपाटाइटिस बीबाट संक्रमित दीर्घरोगीले इन्टरफेरोन, एन्टिभाइरलजस्ता औषधिको प्रयोग गर्नुपर्छ।

यो रोग लाग्न नदिनको लागि हेपाटाइटिस बीको भ्याक्सिन प्रयोग गर्नु उपयुक्त हुन्छ । हिजोआज नेपाल सरकारले खोप कार्यक्रममा यसको भ्याक्सिनलाई पनि समावेश गरेको छ ।नयाँ पत्रिकामा छ ।

यथार्थ
अल्पविकसित देशमा यो रोग पत्ता लाग्दा कलेजोको क्यान्सर भइसकेको पाइन्छ । जसले गर्दा रोग पहिचान गरेको केही महिनामै बिरामीको मृत्यु नै हुने गर्छ । विकसित देशहरूमा अप्रेसन तथा केमोथेरापीबाट रोगीको बाँच्ने उमेरलाई केही बढाउने गरिन्छ । कहिलेकाहीँ कलेजो प्रत्यारोपणबाटै नयाँ जीवन प्राप्त गर्न पनि सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्