राप्रपाले सरकारलाई भन्यो- विदेशमा अलपत्र नेपालीको उद्धार गर
काठमाडौं, बैशाख ७ । राष्ट्रिय प्रजातन्त्र पार्टीले विदेशमा अलपत्र बनेका नेपालीको तत्काल उद्धार गर्न सरकारको ध्यानकर्षण गराएको छ ।
जागिरबाट निकालिएका, त्यहाँको सरकार र रोजगारदाताले जिम्मा नलिएका र अलपत्र अवस्थाका नेपाली नागरिकलाई उद्धार गर्न उसले सरकारलाई आग्रह गरेको हो ।
कोरोना महामारीका कारण रोजगारी गुमाएका धेरै नेपाली अलपत्र परेको भन्दै राप्रपाले विमान चार्टर गरेरै भए पनि उनीहरुलाई स्वदेश फर्काउन भनेको हो । विभिन्न देशमा रहेका नेपालीको स्वास्थ्य र सुरक्षा अवस्थाबारे जानकारी लिन तथा कोरोना भाइरसको संक्रमणबाट जोगाउन आवश्यक पहल गर्न पनि भनिएको छ ।
अध्यक्षत्रय कमल थापा, पशुपतिशम्शेर जबरा र डा। प्रकाशचन्द्र लोहनीले विज्ञप्ति निकाली नेपाल–भारत सिमानासम्म आइपुगेका नेपाली नागरिकलाई स्वास्थ्य परीक्षण गरी देशभित्र ल्याउन पनि माग गरेका छन् ।
कार्यथलो छाडेर सयौं किलोमिटर हिँड्दै घर फर्किरहेका मजदुर, किसान र सर्वसाधारणलाई गन्तव्यसम्म पु¥याउन आग्रह गर्दै राप्रपाले महामारीबाट वैदेशिक रोजगारीको क्षेत्रमा पर्नसक्ने नकारात्मक प्रभाव न्यूनीकरणका लागि योजना बनाउन पनि भनेको छ ।
कोरोनाको प्रकोप अन्त्य नभएसम्म सामान ढुवानीबाहेक भारत र चीनसंगको सीमा बन्द गर्न, नियमन गर्न तथा सम्पूर्ण व्यवसायिक अन्तर्राष्ट्रिय उडान बन्द गर्न आग्रह गरेको छ ।
कोरोना भाइरसको महामारीबाट प्रभावित पशुपालन, कुखुरापालन, माछापालन, दुग्ध व्यवसायलगायत कृषिसम्बन्धी अन्य व्यवसायलाई परेको र भविष्यमा पर्न सक्ने नकारात्मक प्रभावलाई हेरी अल्पकालीन र दीर्घकालीन राहत प्याकेज ल्याउन पनि राप्रपाको माग छ ।
सरकारले अल्पविकसित र विकासोन्मुख राष्ट्रहरुले लिएको ऋणमा आगामी दुई बर्षसम्मको लागि ब्याज मिनाह गर्ने प्रस्ताव राख्न सुझाव दिँदै राप्रपाले नेपाल जस्तो अल्पविकसित राष्ट्रहरुले तिर्नु पर्ने कुल ऋणको कम्तीमा ५० प्रतिशत मिनाहाको प्रस्ताव अन्तर्राष्ट्रिय मञ्चहरुमा राख्न आग्रह गरेको छ ।
केन्द्रमा प्रधानमन्त्रीको संयोजकत्वमा रहने गरी र सबै तहमा सर्वदलीय संयन्त्र गठन गर्न पनि राप्रपाले माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्