अलपत्र परेका जनताको विषयमा देउवाको चासो, गरे ‘तीन ट्वीट’
काठमाडौं , बैशाख ५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनका कारण अलपत्र परेका जनताको विषयमा चासो राखेका छन् ।
कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि राजधानीबाट गाउँगाउँसम्म मजदुर हिँडेर गएका खबर सार्वजनिक भएपछि देउवाले यो विषयमा चासो राख्दै शुक्रबार उनीहरुलाई सहयोग गर्न माग गरेका हुन् ।
पहिलो ट्वीटमा देउवाले जनतालाई सुरक्षित तरिकाले गाउँ पुर्याउन सरकारसँग माग गरेका छन् । ‘राजधानीबाट घर जाने ति जनताहरुलाई तत्काल गासवासको प्रवन्ध गरी सुरक्षित ढंगले गाउँ पुर्याउने व्यवस्था मिलाउन म सरकारसँग आग्रह गर्दछु’, पहिलो ट्विटमा देउवाले लेखेका छन् ।
दोस्रो ट्वीटमा निमुखा नागरिकको पीडामा सरकार दर्शक बनेको भन्दै आपत्ति जनाएका छन् । ‘काठमाडौंमा श्रम गरिरहेका नागरिकहरु खाना र बस्ने व्यवस्था नुहदा सयौं किलोमीटर पैदल हिंडेर घर गइरहेका छन्।सरकारको भरथेग सबैभन्दा बढि तिनै निमुखा जनतामाथि हुनुपर्ने हो’, देउवाले दोस्रो ट्वीटमा लेखेका छन्, ‘तर सरकारमा बसेकाहरु ति निमुखाहरुको त्यो यात्राको दर्शक मात्रै भएका छन्।’
तेस्रो ट्वीटमा भने देउवाले दुःख पाएका नागरिकलाई पार्टीका भातृ र शुभेच्छुक संस्थाका साथीलाई सामाजिक दूरी कायम गर्दै खाने र बस्ने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।
‘लकडाउनको कारण काठमाडौंलगायत विभिन्न क्षेत्रबाट खाना र बस्ने व्यवस्था नभएर पैदल हिँडेर घर गइरहेका नागरिकहरुलाई नेपाली कांग्रेसका स्थानीय तह र पार्टीको भातृ तथा शुभेच्छुक संस्थाका साथीले सामाजिक दुरी कायम गरी आआफ्नो क्षेत्रमा खाना र राति भए वासको प्रबन्ध मिलाउन आग्रह गर्दछु’, देउवाले तेस्रो ट्वीटमा लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस्