अस्तित्व नै गुमाउने अवस्थामा एनआरएन

फणिन्द्र दाहाल / विश्वभर छरिएर रहेका नेपालीहरुको साझा संस्थाको रुपमा सन् २००३ मा स्थापना भएको गैरआवासीय नेपाली संघको संजाल अहिले ७७ वटा मुलुकमा फैलिएको छ । स्थापनाकालदेखि आजको अवस्थासम्म आइपुग्दा सिंगै देश र देशवासीको समेत भरोसाको केन्द्रविन्दु बनेको संघ अहिले नेतृत्वको सानो गल्तीका कारण अस्तित्व नै गुमाउने अवस्थामा पुगेको छ ।
संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोदेखि देवमान हिराचन, जीवा लामिछाने, शेष घले हुदै अहिले भवन भट्टसम्म आइपुगेको नेतृत्वको बागडोर विगतका अध्यक्षहरुले जुन ढंगले संघलाई अघि बढाएका थिए त्यसलाई वर्तमान भट्ट नेतृत्वले सम्हाल्न नसक्दा एनआरएनहरु नै विभक्त हुने खतरा बढेर गएको छ ।
अहिले एनआरएनहरुको ड्रिम प्रोजेक्ट लाप्राक बस्ती निर्माण, संघको आफ्नै मुख्यालय निर्माण, शंखमुल पार्क निर्माण र विभिन्न कल्याणकारी कार्य चलिरहँदा गत असोजमा भएको संघको आठौ विश्वसम्मेलनले चुनेको भट्ट नेतृत्वले संघका यी अभियान सम्पन्न गर्दै थप नयाँ काम शुरु गर्ला भन्ने सबैको आशा विपरित पछिल्लो समय एनआरएनए सचिवालयमा छताछुल्ल भएका केही घटनाहरुले संघको चौतर्फी आलोचना शुरु भएको छ ।
निर्वाचित भएको ३ महिना नवित्दै संघको गरिमालाई यहाँसम्म ल्याउन अहम् भूमिका खेलेका सचिवालयका कार्यकारी निर्देशक राजेश रानालाई महासचिव केसीको ठाडो आदेशमा बर्खास्त गरिनु र विगतदेखि नै संघको कोषको रकम जम्मा गरिदै आएको प्रभु बैंकको खाता एकाएक मेघा बैंकमा सारिन लागिनुले एनआरएनएको वर्तमान नेतृत्वप्रति विश्वभर रहेका एनआरएनहरु र संघप्रति सुभेच्छा राख्नेहरुले शंकाको दृष्टिले हेर्न थालेका छन् ।

संस्थागत अध्यक्ष उपेन्द्र महतोदेखि जिवा लामिछानेसम्म केहि करोडमा खुम्चिएको संघको कोष र सम्पति शेष घलेको २ कार्यकालमा आइपुग्दा झण्डै १ अर्बको हाराहारीमा पुगिसकेको छ । उता संघको कल्याणकारी कामका लागि विश्वभरबाट आउने सहायताको दर पनि घलेले बलियो बनाइदिए । यही ठुलो रकमको चलखेल र आफु अनुकुलका लागि प्रयोग गर्न नै कार्यकारी निर्देशक रानालाई बर्खास्त गरिएको तथा बैंक खाता सार्न लागिएको स्रोतको दावी छ ।
हेर्दा सामान्य लाग्ने यस्ता घटनाका कारण अहिले संघमा खलबली मच्चिएको हो । नयाँ नेतृत्वले निर्वाचनमा पराजित पक्ष तथा विश्वभर रहेका एनआरएनहरुलाई समेटेर अघि बढनुपर्नेमा अध्यक्ष र महासचिव दम्भमा चल्न थालेपछि संघका कार्यक्रमहरुमा उपस्थित नहुनेदेखि कार्यक्रम बहिस्कार गर्नेसम्मको पक्ष विपक्ष खडा हुन थालेको छ । एनआरएनए अभियानमा सधै सहयोग गर्दै आएका एक अभियन्ताले त यसै गरी वर्तमान नेतृत्व चल्यो भने अब उप्रान्त आफुले गर्दै आएको सहयोग बहिस्कार गर्ने समेत बताए ।
ठुला–ठुला परियोजना तथा देशमा लगानी बढाएर विगतदेखि नै देश र देशवासीले संघप्रति राख्दै आएको अपेक्षा पुरा गर्न लाग्नुपर्नेमा निम्नस्तरको काममा अल्झदा संघको अस्तित्व खतरामा पर्ने देखिएको भन्दै एनआरएनएका पुराना अभियन्ताहरुले कर्मचारी बर्खास्त र बैंक खाता सार्ने केटाकेटी काम तुरुन्त सच्चाएर अघि बढे अझै पनि केही नबिग्रिएको प्रतिक्रिया दिएका छन ।
एनआरएनएलाई जोगाउदै यसको शाख थप उच्च बनाउने हो भने अध्यक्ष भवन भट्ट र महासचिव बद्री केसीले आफ्नो कार्यशैली बदल्दै विश्वभर रहेका एनआरएनहरुको साझा नेता बन्न सक्नुपर्दछ ।
प्रतिक्रिया दिनुहोस्