बैंक नखुल्दा सेवाग्राही समस्यामा

काठमाडौं , बैशाख ४ । लकडाउनु को समयमा बैंकले सेवा प्रवाह नगर्दा सेवाग्राही समस्यामा परेका छन् ।

भक्तपुरका अधिकांश सरकारी तथा निजी बैंकहरु लकडाउनयता बन्द भएपछि सेवाग्राहीले खातामा जम्मा गरेको पैसा झिक्न नपाएका हुन् ।

सूर्यविनायक नगरपालिका सिपाडोल–८ का राजन खड्काले बैंकमा राखेको पैसा झिक्न नपाएको भन्दै गुनासो गर्नुभयो । आफूसँग एटीएम कार्ड नभएको र पटक(पटक बैंकसँग सम्पर्क गर्दा पनि समस्या हल नभएको उहाँले बताउनु भयो ।

यस्तै भक्तपुर नगरपालिका १ च्यामासिंहका प्रविण श्रेष्ठ पनि बैंक नखुल्दा समस्या परेको बताउनुहुन्छ । उहाँले लकडाउन कहिलेसम्म लम्बिन्छ भन्ने ठेगान नभएको बेलामा खाद्यान्न, औषधिको जोहो गर्न र बिरामी परे उपचार गर्न केही पैसा घरमा राख्नु पर्ने भएपनि बैंकबाट पैसा निकाल्न नपाएको गुनासो गर्नुभयो ।

निश्चित समय सेवा दिनेगरि बैंकहरु संचालन गर्न सरकारले निर्देशन दिनु पर्ने स्थानीयको भनाइ छ । यतिबेला कतिपय स्थानीय सहकारीले भने सेवाग्राहीको घर(घरै पैसा पुर्याएर सहयोग गरिरहेको स्थानीय बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्