कालोबजारी गर्ने बौद्धबजार प्राइभेटलाई दुई लाख जरिवाना

काठमाडौैं, बैशाख ४ । स्वयम्भूस्थित बौद्ध बजार प्राइभेट लिमिटेडलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बुधबार गरेको अनुगमनका क्रममा एमआरपी भन्दा बढी लिएको फेला परेपछि कारबाही गरेको हो ।

मार्टले अधिकांश उपभोग्य वस्तुमा बढी मूल्य लिएर बिक्री गर्ने गरेको अनुगमनका क्रममा फेला परेको छ । पछिल्लो समय बजारमा खाद्य वस्तुको मूल्यमा वृद्धि भएको छ । कोरोना रोकथामका लागि सरकारले लकडाउन गरेका बेला थोक बिक्रेताले खाद्य वस्तुको मूल्य बढाएका हुन् ।

बजारमा व्यवसायीले दैनिक उपभोग्य वस्तुको मूल्य बढाएपछि विभागले अनुगमनको कामलाई सक्रिय बनाएको छ । विभागका महानिर्देशक नेत्र सुवेदीले कृत्रिम अभाव गराएर कालोबजारी गर्ने व्यवयीलाई कारबाही गरिने बताए । अहिले बजार अनुगमन गरिरहेको र बढी मूल्य लिने व्यवसायीलाई कारबाही गरिने उनको भनाई छ । बुधबार गरिएको अनुमगनका क्रममा स्वयम्भूस्थित एउटा मार्ट पसलले एमआरपी भन्दा बढी मूल्य लिएको फेला परेपछि तत्काल दुई लाख रुपैयाँ जरिवाना गरिएको बताए । पछिल्लो डेढ सातामा चामल, दाल, गेडागुडी, तेल, चिनी, नुन जस्ता खाद्य वस्तुको मूल्य अस्वाभाविक रुपमा बढेको छ ।

प्रतिबोरा ९ सय ५० रुपैयाँ भन्दा बढी मूल्यका चामल बोरामै एक सय रुपैयाँले भाउ बढेको खुद्रा व्यापार संघले जनाएको छ । एक साताअघि १५० रुपैयाँ पाइएको मुसुरोका दालमा किलोमै १५ देखि २५ रुपैयाँ, १५० रुपैयाँको मुग दालमा ३० रुपैयाँ तथा मासको दाल १३० रुपैयाँ प्रतिकिलोबाट ३० रुपैयाँले बढेर १६० रुपैयाँ पु(याइएको छ । खुद्रामा चिनीको मूल्य ७५ रुपैयाँ किलोबाट १० रुपैयाँले बढाएर ८५ पु¥याइएको छ । यस्तै भटमासको तेल प्रतिलिटरमा १५ रुपैयाँ तथा सनफ्लावर तेलमा पनि ४० रुपैयाँले मूल्य बढेको संघले जनाएको छ ।

एक्कासी मूल्य बढाए पनि थोक बिक्रेताले खुद्रा व्यवसायीलाई बढेको मूल्यमा खरिद बिल जारी गर्न नमानेको खुद्रा व्यवसायीको भनाई छ ।
नेपाल खुद्रा व्यवसायी संघका अध्यक्ष राजकुमार श्रेष्ठले होलसेलबाट एक्कासी खाद्य वस्तुको मूल्य बढेर आएको र त्यसको असर उपभोक्ता मूल्यमा परेको बताए ।

पछिल्लो समय अत्यावश्यक वस्तुको मूल्यमा सामान्य वृद्धि भएको उनले जानकारी दिए ।
विश्वभर कोरोना भाइरसको संक्रमण फैलिएपछि सरकारले अत्यावश्यक सेवाबाहेक अन्य वितरणमा रोक लगाएको छ । व्यसायीले अत्यावश्यक वस्तुमा कृत्रिम अभाव गराएर मूल्य बढाइरहेका छन् । बजारमा मास्क्, स्यानिटाइजर, औषधीको अभाव रहेको छ । बजारमा तरकारी र फलफूलको मूल्यमा अस्वभाविक वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्