कोरोनाको महामारी झेलीरहेको अमेरिकामा शक्तिशाली आँधी, ३० जनाको मृत्यु

काठमाडौं, बैशाख २ । कोरोना भाइरसको महामारी जारी रहेकै अवस्थामा संयुक्त राज्य अमेरिकाको दक्षिणपूर्वमा सोमबार आएको शक्तिशाली हावाहुरीका कारण ३० जनाभन्दा बढीको मृत्यु भएको छ । आँधीका कारण १० लाखभन्दा बढी मानिस घरबारविहीन हुनुका साथै ठाउँठाउँमा बाढी र पहिरो गएको स्थानीय उद्धारकर्मीहरुले बताएका छन् ।

अलाबामा राज्यमा आँधीपीडित मानिसहरु सामुदायिक आश्रयकेन्द्रमा भेला भएका र कोरानाभाइरस प्रसार रोक्न उनीहरुले मास्क लगाउनु परेको छ । आँधीबाट अलाबामा राज्यमा मात्र ११ जनाको मृत्यु भइसकेको छ ।

उता दक्षिणी क्यारोलिना राज्यमा ९ जनाको ज्यान गएको छ भने छिमेकी राज्य जर्जियामा ८ जनाको मृत्यु भएको छ । टेनिसी राज्यका अधिकारीहरुले राज्यमा कम्तीमा ३ जनाको मृत्यु भएको जनाएका छन् । अर्कान्सास र उत्तरी क्यारोलिना राज्यमा रुखहरु ढलेका वा घरहरु भत्किएका कारण केही व्यक्तिको मृत्यु भएको आशंका गरिएको छ ।

दक्षिणी क्षेत्रका राज्यहरुका कपितय ठाउँमा शक्तिशाली चक्रवात ९टोर्नाडो० उत्पन्न भएको र यी चक्रवातहरु पूर्वी समुद्री किनारातर्फ बढ्न थालेको देखिएको मौसम विज्ञान विभागले जनाएको छ ।

मिसिसिपी राज्यका गभर्नर टेट रिभ्सले एक दशकको अवधिमा यति शक्तिशाली आँधी पहिलोपटक देखिएको बताए । उनले राज्यमा विगतमा पनि चक्रवातको अनुभव गरिएको तर यति शक्तिशाली आँधी पहिलोपटक आएको बताए ।

आँधी प्रभावित क्षेत्रहरुमा बाढी र पहिरो गएको छ भने टेक्सासदेखि मेनसम्मको क्षेत्रमा १३ लाख ग्राहकको विद्युत लाइन काटिएको छ ।

टेनिसी उपत्यकामा सप्ताहान्तमा वर्षा मापन गर्दा १५ सेन्टिमिटरसम्म वर्षा भएको पाइएको छ । टेनिसी र अलाबामाका ताल र नदीको सतह बढेको छ ।

प्रतिक्रिया दिनुहोस्