साधना लघुवित्तद्वारा कोरोना भाइरस रोकथामको लागि ४ लाख रुपैयाँ सहयोग

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना रोकथामका लागि रु ४ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । गोरखा जिल्लामा केन्द्रिय कार्यालय रहेको यस संस्थाले गोरखा जिल्लाका बिभिन्न ८ वटा स्थानिय निकायलाई ५० हजार रुपैयाँको दरले उक्त रकम राहत स्वरुप प्रदान गर्ने निर्णय गरेको हो । जसमा गोरखा नगरपालिका, पालुङटार नगरपालिका, भिमसेन थापा गाउँपालिका, शहिदलखन गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका, अजिरकोट गाउँपालिका, सिरानचोक गाउँपालिका र धार्चे गाउँपालिका रहेका छन् । बिश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ (नोभल कोरोना भाईरस) को जोखिमले पारेको असहज परिस्थितिलाई मध्यनजर गरी राहात स्वरुप उक्त सहयोग गरेको हो ।
जसमध्ये गोरखा नगरपालिकाको लागि प्रदान गरिएको ५० हजार रुपैयाँको चेक आज गोरखा नगरपालिकामा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले नगर प्रमुख राजन राज पन्तलाई हस्तान्तरण गर्नुभयो ।
सहयोग रकम ग्रहण गर्दै नगर प्रमुख पन्तले गोरखा जिल्लामा केन्द्रीय कार्यालय राखी यहाँका विपन्न समूदायलाई आर्थिक रुपले सशक्त बनाउने कार्यमा प्रभावकारी भूमिका खेल्दै आएको यस लघुवित्तले सामाजिक रुपमा पनि सक्रिय भई गोरखा नगरपालिका लगायत विभिन्न गाउँपालिका हरुलाई गरेको आर्थिक सहयोग प्रति हार्दिक आभार प्रकट गर्नुभयो ।

यस प्रकारको सहयोगले कोरोना भाईरसको संक्रमणको महामारी नियन्त्रण गर्न, महामारीवाट प्रभावित विपन्न समूदायलाई राहातको ब्यवस्था गर्न तथा संक्रमण पिडितहरुको उपचारमा थोरै भएपनि सहयोग पुग्ने बिश्वास गरिएको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्