कोरोना संक्रमित चारै जनाको स्वास्थ्य अवस्था सामान्य, देशभरका अस्पतालमा ८७ जना आइसोलेसनमा

काठमाडौं , चैत १८ । नेपालमा कोरोना भाइरसको संक्रमण देखिएका चारै जनाको स्वास्थ्य अवस्था सामान्य पाइएको सम्बन्धित अस्पतालले जनाएका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत दुवै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निर्देशक डा। सागर राजभण्डारीले जानकारी दिए ।

उक्त अस्पतालमा फ्रान्सबाट गत चैत ४ गते आएकी काठमाडौंकी १९ वर्षीया युवती र गत चैत ६ गते युएईबाट नेपाल आएका एक युवकको संक्रमण देखिएको थियो । उनीहरु दुवै जनाको अहिले अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

दुवैको जनाको दोस्रो परीक्षणको लागि स्वाव राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने तयारी भइरहेको छ । यसैगरी कैलालीको धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक अस्पतालमा उपचार गराइरहेका दुवईबाट चैत ६ गते आएका ३४ वर्षीय संक्रमित युवाको अवस्था पनि सामान्य रहेको छ ।

चैत ४ गते बेल्जियमबाट नेपाल आएकी बागलुङकी १९ वर्षीया युवतीको पनि स्वास्थ्य अवस्था सामान्य रहेको धौलागिरी अस्पतालले जनाएको छ । युवतीसँगै पोखरा गएका र उनीसँग नजिक रहेका नौ जनाको स्वाव परीक्षणको जनस्वास्थय प्रयोगशाला काठमाडौंमा भइरहेको छ ।

८७ जना आइसोलेसनमा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको आशंकामा हालसम्म एक हजार ६० वटा नमूना परीक्षण गरेको जनाएको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले कोरोना संक्रमणले नेपालमा पारेको असरबारे जानकारी दिन आयोजित नियमित पत्रकार सम्मेलन मार्फत हालसम्म एक हजार ६० वटा नमूना परीक्षण गरीएको बताए ।

हालसम्म भएको परीक्षणमा ५ जनामा कोरोना संक्रमण देखिएको र १ जना निको भइसकेको प्रवक्ता देवकोटाले बताए ।उनका अनुसार कोरोना संक्रमणको आशंकामा आज मात्र ८७ जना केन्द्र र प्रदेश अस्पतालहरुमा आइसोलेसनमा रहेका छन् ।

‘आजसम्म एक हजार ६० वटा टेष्ट गरेका छौं, आइसोलनसमा रहेका टेकु अस्पतालमा १० जना र प्रदेशहरुमा ७७ जना गरी ८७ जना आजको दिनमा सम्भावित विरामीहरु आइसोलेसनमा हुनुहुन्छ,’ प्रवक्ता देवकोटाले भने, ‘उहाँहरुको हामीले नमूना परीक्षण गछौं ।’

प्रवक्ता देवकोटाले कोरोना संक्रमित भएर आइसोलेनमा भएका बिरामीको सम्पर्कमा रहेका ८० प्रतिशत व्यक्तिलाई सम्पर्कमा ल्याइसकेको पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्