सरकारले क्वरेण्टीन सञ्चालनको मापदण्ड सार्वजनिक गर्याे

काठमाडौं, १८ चैत । सरकारले क्वरेण्टीन सञ्चालन तथा व्यवस्थापन गर्न बनाएको मापदण्ड सार्वजनिक गरेको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न, नागरिक सुरक्षित राख्न संकास्पद व्यक्तिलाई कम्तीमा १४ देखि १७ दिनसम्म क्वरेण्टीनमा सुरक्षित तथा व्यवस्थित तरिकाले राख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्वरेण्टीन मापदण्ड तयार गरेको हो ।
मापदण्ड अनुसार संघ, प्रदेश र पालिकामा निर्माण हुने वा तोकिने क्वरेण्टीन सम्भव भएसम्म घनाबस्तीबाट टाढा हुनुपन ै क्वरेण्टीनमा स्वास्थ्य, सञ्चार, सडक, पानी, विद्युतको पू्र्ण व्यवस्था हुनुपर्छ । सम्भव भएसम्म एक सयभन्दा धेरै व्यक्ति रहन सक्ने क्षमताको हुनु पर्नेछ । सरकारी, संस्थान, सामुदायिक तथा सार्वजनिक भौतिक संरचना होस्टेल, तालिम केन्द्र, होटल, शैक्षिक संस्था क्वरेण्टीनका उपयुक्त हुने मापदण्डमा उल्लेख छ ।

मापदण्डमा क्वरेण्टीनमा बसेकाको खाना खाने तालिका उल्लेख गरिएको छ । जसअनुसार बिहान साढे ७ देखि ८ बजेभित्र चिया खाजा, साढे ११ देखि १२ बजेभित्र दिवा खाना, साढे २ देखि ३ बजेभित्र खाजा र राति साढे ७ देखि ८ बजेभित्र रात्रि खाना खानुपर्ने उल्लेख छ । खानाको व्यवस्था गर्दा स्थानीय उपलब्धतालाई ध्यान दिनुपर्नेछ । यो मापदण्ड संघीय मामिला तथा समान्य मन्त्रालयले सात सय ५३ वटै पालिकामा पठाइ सकेको जनाएको छ ।

क्वरेण्टीनका रुपमा खुला मैदान, पाल वा अरु अस्थायी पूर्वाधार प्रयोग गर्न सकिने छ । गर्भवती, १० वर्षसम्मका बालबालिका, जेष्ठ नागरिकलाई प्राथमिकता दिनु पर्नेछ । एक सय जनाको लागि एक एमपीएच–एमडी चिकित्सक सहित आठ जनाको स्वास्थ्यकर्मीको टिम परिचालन गर्नु पर्नेछ । यस्तै सुरक्षाको व्यवस्था हुनु पर्नेछ । क्वरेण्टीन सञ्चालन तथा व्यवस्थापन समितिको संयोजकमा सहायक प्रमुख जिल्ला अधिकारी रहने व्यवस्था गरिएको छ । अनुगमन तथा सुपरिवेक्षण समितिमा पालिका प्रमुख रहने छन् ।

प्रतिक्रिया दिनुहोस्