काठमाडौं महानगरपालिकाको राहतका लागि मापदण्ड स्वीकृत, कसले पाउने छन् राहत ?
काठमाडौं, १७ चैत । लकडाउनको बेला समस्यामा परेकालाई काठमाडौं महानगरपालिकाले ‘कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी राहत वितरण मापदण्ड–२०७६’ स्वीकृत गरेको छ । सोमबार राष्ट्रिय सभागृहमा बसेको काठमाडौं महानगरपालिकाको ४३ औं कार्यपालिका बैठकले मापदण्ड स्वीकृत गरेको हो ।
काठमाडौं महानगरपालिकाले महानगरभित्र बसोबास गर्दै आएका असहाय, अति विपन्न र दैनिक ज्यालादारी गर्ने व्यक्तिहरुलाई खाना, खाजा नपाएर समस्यामा छन् । ‘विपन्न वर्गको पहिचान गरेर सबैलाई समान प्रकारको राहत उपलब्ध गराउन मापदण्ड पारित गरिएको हो ।
मापदण्डअनुसार अभिभावक नभएका, आफ्नो आय स्रोत नभएका, अनाथ आश्रम, बृद्धाश्रम, संरक्षण गृह, मन्दिर, गुम्बा, मस्जिदजस्ता आश्रमस्थलमा रहेका, अरुको सहयोग एवं सहारामा बाँचेका असहाय व्यक्तिले राहत पाउने छन् ।
त्यस्तै, आम्दानीको स्थायी स्रोत नभएका, दैनिक गुजारा गर्न धौ–धौ भएका र सम्बन्धित वडाले अति विपन्न भनी प्रमाणित गरेका व्यक्ति वा परिवारलाई राहत वितरण गरिने महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले बताउनु भयो ।
त्यसैगरी, संगठित संस्थामा काम गर्नेबाहेक काठमाडौं महानगरमा विगतदेखि दैनिक रुपमा ज्याला मजदुरी गर्दै आएका, काठमाडौंमा घर(जग्गा नभएका भरियालगायतलाई दैनिक ज्यालादारीमा काम गर्ने व्यक्ति भनी राहत दिइने महानगरपालिकाले जनाएको छ ।
हालै विदेश भ्रमण गरी महानगरपालिकामा बस्नेहरुको विवरण संकलन थालिसकेको महानगरपालिकाले जनाएको छ ।
नगर कार्यपालिका बैठकले भिडभाड कम गराउन सुरक्षाकर्मी, जनप्रतिनिधिलगायतको सहयोगमा घर–घरमा खाद्यान्न र्पुयाउने, आपूर्ति व्यवस्थालाई सहज बनाउन सम्बन्धित निकायसँग छलफल गरी अघि बढ्ने निर्णय पनि समेत गरेको छ ।
बैठकले पशुपंक्षी, चराचुरुङ्गीलाई आहाराको व्यवस्था वडाले आफ्नो बजेटबाट गर्ने निर्णय सहित पाँच सय जनासम्मलाई राख्न मिल्ने ‘क्वारेन्टाइन’को व्यवस्थापनका लागि ठाउँ खोजी गर्ने निर्णय गरेको छ ।
बैठकमा कार्यपालिका सदस्यहरुले बैंकिङ क्षेत्र बन्द हुनाले पनि खाद्यान्न नपाएको, धारामा नियमित पानी पठाउन नसकिएको, ग्यास वितरण प्रणाली नियमन गर्ने संयन्त्र आवश्यक भएको, भित्री सहरी क्षेत्रमा चहलपहल कम गराउन थप कडाइ गर्नुपर्ने जस्ता कुराहरुमा छलफल भएको थियो ।











प्रतिक्रिया दिनुहोस्